सिडिओलाई चिनियाँ पक्षको जवाफः लाप्चा हाम्रो नक्सामा कायम छ


निशेष खनाल

काठमाण्डु – चीनले हुम्लाको लाप्चामा नेपाली भूमि मिचेर निर्माण गरेको स्थान आफ्नो भएको दाबी गरेको छ । चीनले नाम्खा गाउँपालिका अन्र्तगत पर्ने लाप्चामा ९ वटा भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए ।

चिनियाँ पक्षको दाबीअनुसार भवन निर्माण गरेको स्थान भन्दा एक मिलोमिटर यताबाट मात्रै नेपाली भूमि पर्छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीसँग चिनियाँ पक्षले उक्त भूभाग आफ्नो नक्सामा कायम भएको जवाफ दिएको छ ।

शनिबार हुम्लाका प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोलीले नाम्खा गाउँपालिका ६ को लाप्चामा चिनियाँ पक्षसँगको छलफल गरेको थियो ।

अध्यक्ष तामाङले भवन निर्माण गरेको स्थानमा नेपाली पक्षलाई जान नदिएको बताएका छन् । उनले १२ नम्बर पिलर सम्म मात्रै आफूहरु पुगेको र ११ नम्बर पिलर गायब रहेको जानकारी दिए । उनले ११ नम्बर पिलर कुन स्थानमा थियो भन्नेसमेत नेपाली पक्ष जानकारी नभएको बताए ।

‘प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँग म पनि गएको थिएँ । १२ नम्बर पिलर लाप्चाको गेटमा पहिलेदेखि थियो । यो यथावत छ । अहिले मिडियामा चीनले नेपाली भूमिमाथि घर बनाएको छ तर, त्यो कहाँ पर्छ भनेर यकिन अवस्था छैन्’, अध्यक्ष तामाङले भने, ‘११ नम्बर पिलर हालसम्म फेला परेको अवस्था छैन् । त्यसलाई मात्र एकिन गर्ने हो भने त्यो हाम्रो भूभागमा पर्छ । तर, ११ पिलर अहिलेसम्म फेला परेको छैन् । त्यो नभेटिदासम्म हामीले यकिन गर्ने अवस्था छैन् ।

त्यस्तै उनले चिनियाँ पक्षले भवन निर्माण गरेको स्थान भन्दा दुई किलोमिटर उता आफूहरुले सडक निर्माण गरेको बताए । उनले वि.स. २०६६ सालमा आफुहरुले उक्त भवन जाने क्षेत्रमा सडढक निर्माण गरेको बताएका हुन् ।

‘चिनियाँ पक्षले भवन निर्माण गरेको स्थानमा पहिलेदेखि हामीले उपभोग गर्दै आएको हो । भवन बनाएको ठाउँभन्दा दुई किलोमिटर उता हामीले नै बाटो खनेको हो । त्यो भवन निर्माण गरेको क्षेत्रको बाटो खन्ने त हामी नै हो त !’, उनले भने, ‘हामीले २०६६ सालमा बाटो खनेको हो । त्यतिबेला उनीहरको आर्मी पोष्ट साढे दुई किलोमिटर टाढा थियो । त्यो आर्मीका पोष्ट नजिकैबाट हामीले बाटो खनेको हो ।’

अध्यक्ष तामाङले भवन बनाएको स्थानमा पहिले आफूहरु जाने बस्ने गरेको बताए । उनकाअनुसार चिनियाँ पक्षले नै लाप्चामा सीमा निर्धारण गरिदिएको छ ।

‘उनीहरुले यो सबै हाम्रो भूमि हो । नक्सामा यो भूमि पनि कायम छ । भवन निर्माण गरेभन्दा १ किलोमिटर यता पनि चीनको भू–भाग हो भनेका छन्’, उनले भने, ‘पहिले त हामी भवन बनाएको ठाउँसम्म गएका थियौं । त्यसपछि उनीहरुको आमीले यो हाम्रो भूमि हो यहाँ बस्न मिल्दैन । तपाईहरु आफ्नो सीमामा जानुपर्यो भनेर अनुरोध गर्यो । सीमाना हामीलाई कुन ठाउँसम्म हो थाहा छैन् । पिलर नै छैन् । उहाँहरुले नै सीमा निर्धारण गर्नूभएको छ ।’

त्यस्तै उनले सीमानामा बोर्ड आउट पोष्ट (बिओपी) स्थापना हुन नसक्दा समस्या भएको बताए । उनले सीमा क्षेत्रमा सरकारको उपस्थिति शून्य हुँदा अहिले यस्तो परिणाम भोग्नु परेको बताए ।

‘त्यो क्षेत्रमा बिओपी राखेको अवस्था छैन् । त्यो ठाउँमा राज्यको कुनै पहुँच छैन् । बेवारिसे जस्तो भयो ’, उनले भने, ‘उपभोगको हिसाबले हामीले लाप्चा नेपालमा पर्छ भन्दै आएको छौं । बाटो खनेको हामीले हो । हामी प्राविधिक पनि होइन । यो यो भनेर रिपोर्ट गर्ने मात्रै हो ।’

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सिडिओ गिरीले स्थलगत अनुगमनको रिपोर्ट गृह र परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement