चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा विश्वस्त छु : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण अत्यन्तै सफल भएको दाबी गर्दै छिटै चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।

चिनको छ दिने औपचारिक भ्रमण सकेर आईतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भेटमा आफूले नेपाल भ्रमणको निम्तो दिएको र सीका तर्फबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

नेपाल आउने निम्तामा राष्ट्रपति सी उत्साही भएको आफूले पाएको ओलीले जनाए। चीन भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयनका लागि विशेष संयन्त्र समेत निर्माण हुने भएकाले कार्यान्वयनमा समस्या नआउने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल सञ्चालनसहितका १४ वटा सम्झौता भएका छन्।

आफ्नो ६ दिने चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले स्वागत गरेका थिए।

यस्तै नेपालमा रेल ल्याउने चिनियाँ राष्ट्रपतिको भिजन नै भएको आफूले पाएको प्रधानमन्त्री ओलीले बताए। ‘मसँगको वार्तामा राष्ट्रपति सीले नेपाल रेल पुर्याउने आफ्नो भिजन रहेको बताएको बताएका छन् । ’ उनले भने। त्यसो भए नेपालमा रेल कहिलेसम्म आउँछ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले रेलमार्ग सञ्चालनका लागि सर्वे गर्न केही समय लाग्ने बताए।

‘धेरैे हत्तारोभन्दा पनि परिपक्व ढंगले काम गर्नुपर्छ। डिटेल सर्वेमा अलिकता समय लाग्छ। जुलाइभित्र यसको काम सकिन्छ। केही वर्ष्भित्र रेल सञ्चलनमा आउँछ।’प्रधानमन्त्री ओलीले नेपाल इमान्दार अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने पक्षमा रहेको बताए। ‘हामी सस्तो राजनीतिक लोकप्रियताका लागि काम गर्दैनौं,’ उनले भने, ‘प्रतिकूल परिस्थितिमा पनि आत्तिदैनौं, अनुकूल अवस्थामा मात्तिदैनौं। हामी इमान्दार कूटनीतिक, छिमेक र अन्तर्राट्रिय सम्बन्ध कायम गर्न चाहन्छौं।’ छिमेकीबीच शान्ति सुव्यवस्था कायम गर्ने पक्षमा आफू रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement