सरकारको प्राथमिकतामा चिनियाँ नाका, चार सामुद्रिक र तीनवटा स्थल बन्दरगााह सञ्चालन गर्ने


काठमाडौं – सरकारले चीनतर्फका नाकालाई प्राथमिकता दिएको छ । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै छिमेकी मुलुक चीनका बन्दरगाहा खोल्न सरकारले प्राथमिकता दिएको बताएका छन् ।

चीनसँगको पारवहन सुविधा अन्तर्गत नेपाललाई उपलब्ध चारवटा सामुद्रिक र तीनवटा स्थल बन्दरगााहको उपयोग गर्ने गरी तेस्रो मुलुकसँगको व्यापार विस्तार गरिने जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले चिनियाँ बन्दगाह भएर तेस्रो मुलकसँग व्यापार विस्तार गर्ने जानकारी दिए । व्यापार विस्तारका लागि आवश्यक कानूनी व्यवस्था गरिने उनले बताए ।

आगामी वर्ष चोभार र रसुवाको टिमुरेमा सुख्खा बन्दरगाहाको निर्माण, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण र हुम्लाको यारी, मुस्ताङको कोरला , संखुवासभाको किमाथाङ्का तथा ताप्लेजुङको ओलाङचुङगोलामा व्यापार पूर्वाधर विकास कार्य अगाडि बढाइने जानकारी दिए ।

नेपालले गत भदौ १९ मा भएको नेपाल–चीनबीचको पारवहन सम्झौताअनुसार चार वटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।

जसमध्ये चार सामुद्रिक बन्दरगाह लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ साथै लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने अनुमति पाएको थियो ।

त्यस्तै सरकारले छिमेकी मुलुकसँगको वाणिज्य तथा व्यापार सन्धिको पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात सहज बनाउने भएको छ ।

अर्थमन्त्री खतिवडाले भने, ‘कूटनीतिक नियोग तथा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय संयन्त्रको उपयोग गरी नेपाली वस्तुको अन्तर्राष्ट्रिय व्यापार विस्तार गरिनेछ ।’

त्यस्तै सरकारले नेपालगञ्ज र भैरहवाका सीमामा एकीकृत जाँच चौकी स्थापना गर्ने भएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक उद्घाटन गरेपछि चिसिएको दुईदेशबीचको सम्बन्धपछि सरकारले तेस्रो मुलुकसँगको नाकालाई प्राथमिकता दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement