चिनियां रक्षामन्त्रीलाई भद्रकालिमा ‘गार्ड अफ अनर’ दिने तयारी,रोकिएको सैनिक सहयोग सुचारु गर्नेमा छलफल केन्द्रित


काठमाण्डु– दुई दिने नेपाल भ्रमण सकेर भारतिय विदेशसचिव फर्केकै भोलिपल्ट चिनियां रक्षामन्त्री वेई फङ्गह काठमाण्डु अवतरण गर्दैछन् । परराष्ट्रस्रोतकाअनुसार  चिनियां रक्षामन्त्री वेईको मंसीर १४ गते आइतबार बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम छ । उनी त्यहांबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । जहां चिनियां दूतावासले आयोजना गरेको द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा उनि सहभागी हुनेछन् ।

त्यसपछि उनले सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासंग पहिलो भेटवार्ता गर्नेछन् । नेपाली सेनाले उनको भ्रमणको तयारीको लागी चीनबाट नेशनल डिफेन्स कोर्स गरेका उपरथी बालकृष्ण कार्कीलाई खटाइसकेको छ ।

तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए । उनको भ्रमणका बेला १ सय ५० मिलियन चिनियां आरएमबी बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो । त्यसैको निरन्तरतास्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालिन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

चीनले कोभिड १९ को बेला नेपाली सेनालाई केही सहयोग सामाग्री हस्तान्तरण गरेको थियो  ।  यो भ्रमणमा बांकी सहयोगलाई अघि बढाउने विषयमा नेपाली सेनाले चिनियां रक्षामन्त्रीसंग छलफल गर्ने तयारी छ । त्यसका साथै कोभिड १९ को कारण अवरुद्ध तालिम र अन्य सैनिक सहयोगलाई सुचारु गर्ने विषय समेत प्रधानसेनापति थापाले भेटमा उठाउनेछन् । कोभिडको कारण नेपाली सेनाका अधिकृत चीन जान र चिनियां जनमुक्ति सेनाका अधिकृतहरु नेपाल आउने क्रम रोकिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले चिनियां रक्षामन्त्रीसंगको भेटमा द्धिपक्षिय सैनिक सहयोग र सहकार्यलाई सुचारु गर्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए । उनले भने ‘उहांसंगको छलफल मुख्यगरी कोभिडको कारण रोकिएका सैनिक सहयोग र सहकार्यलाई सुचारु गर्ने र द्धिपक्षिय सम्बन्धलाई मजबूत बनाउनेमा केन्द्रित हुन्छ । ’ चिनियां रक्षामन्त्री वेइलाई सैनिक मुख्यालय भ्रदकालिमै ‘गार्ड अफ अनर’ प्रदान गर्ने सेनाको तयारी समेत छ ।

चिनियां रक्षामन्त्री वेइ एक दिने भ्रमणको लागी नेपाल आउंदैछन् । उनले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति थापासंगै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्नेछन् ।

दिउँसो दुई बजेपछि मात्र चिनियां रक्षामन्त्री वेइको औपचारिक भेटघाट सुरु हुनेछ । उनी राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रधानसेनापति थापालाई भेटेपछि सोझै विमानस्थल जाने कार्यक्रम छ । त्यहांबाट वेई बंगलादेश र त्यसपछि पाकिस्तान भ्रमणमा जानेछन् । उनको भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयका साथै द्धिपक्षिय हितका विषयमा छलफल हुनेछ । वेइको भ्रमणबारे आजै परराष्ट्रमन्त्रालयले विज्ञप्ती जारी गरेर औपचारीक जानकारी दिने कार्यक्रम छ ।

चिनियां राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरिय भ्रमण भएको छैन् । चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियां राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियां अधिकारी हुनेछन् । उनि चिनियां राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलर समेत हुन् ।

यसअघि चिनियां जनमुक्ति सेनाको रकेट फोर्स कमाण्डर रहेका उनि केन्द्रीय सैन्य आयोगका पहिलो नम्बरमा सदस्य हुन् । उक्त आयोगको चिनियां राष्ट्रपति सी अध्यक्ष छन् । त्यसअघि वेइ चिनियां जनमुक्ति सेनाको डेपुटी चिफ अफ स्टाफको जिम्मेवारीमा थिए ।

पछिल्लो समय भारतबाट रअका प्रमुख र सेनाप्रमुखसहित उच्चस्तरको राजनीतिक भ्रमण भएसंगै चीनबाट पनि त्योभन्दा माथिल्लो स्तरबाट भ्रमण हुन लागेको हो । भारत र अमेरिकाबीच दक्षिण एसियामा रणनैतिक साझेदारी बढेसंगै यो क्षेत्रमा चिनियां चांसो पनि बढेको हो ।

दक्षिण एसियामा चिनियां प्रभाव घटाउने विषयमा अमेरिका र भारत एउटै मंचमा आएपछि चिनले पनि आफ्नो उपस्थितीलाई मजबूत बनाउन लागेको विश्लेषकहरुको दावी छ । छिमेकी मुलुक भारतले पनि दक्षिण एसियाका सवै मुलुकहरुसंग सम्बन्ध सुधार गर्ने रणनीति अख्तियार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement