चिनियां रक्षामन्त्री फेङ्हे मंसिर १४ मा काठमाडौं आउंदै, यस्तो छ नेपाल भ्रमणको उदेश्य


काठमाण्डु– चिनियां रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको क्रममा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनि मंसिर १४ गते नेपाल भ्रमणमा आउने टुंगो लागेको हो । चिनियां रक्षामन्त्री नेपाल हुंदै बंगलादेश र पाकिस्तानको भ्रमणमा जानेछन् । चिनियां विदेशमन्त्री वाङ्ग यी नेपाल भ्रमणमा आउने चर्चा चलेपनि अन्ततः रक्षामन्त्री नै नेपाल भ्रमणमा आउन लागेका हुन् ।

उनि नेपाल–चीन सम्बन्धको ६५औं वर्षगांठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन् ।

काठमाण्डौंस्थित चिनियां राजदूतावासले आयोजना गर्ने द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा समेत उनले सहभागी जनाउनेछन् । उनको भ्रमणको विषयमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियां राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको भेटलाई नेकपाको विवादमा चीनले चांसो दिएको अर्थमा चर्चा भएपनि भेटमा रक्षामन्त्रीको नेपाल भ्रमणबारे छलफल भएको स्रोत बताउंछ ।

तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए । पोखरेलको चिनियां रक्षामन्त्री फेङ्हेसंग राम्रो व्यक्तिगत सम्बन्ध समेत छ । उनको भ्रमणका बेला २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो ।

त्यसैको निरन्तरतास्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालिन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

चिनियां राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरिय भ्रमण भएको छैन् ।

चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियां राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियां अधिकारी हुनेछन् । उनि चिनियां राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलर समेत हुन् ।

यसअघि चिनियां जनमुक्ति सेनाको रकेट फोर्स कमाण्डर रहेका उनि केन्द्रीय सैन्य आयोगका पहिलो नम्बरमा सदस्य हुन् । उक्त आयोगको चिनियां राष्ट्रपति सी अध्यक्ष हुन् । त्यसअघि उनि चिनियां जनमुक्ति सेनाको डेपुटी चिफ अफ स्टाफको जिम्मेवारीमा थिए ।

पछिल्लो समय भारतबाट उच्चस्तरको राजनीतिक भ्रमण भएसंगै चीनबाट पनि त्योभन्दा माथिल्लो स्तरबाट भ्रमण हुन लागेको हो । भारत र अमेरिकाबीच दक्षिण एसियामा रणनैतिक साझेदारी बढेसंगै यो क्षेत्रमा चिनियां चांसो पनि बढेको हो ।

उनको भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयका साथै द्धिपक्षिय हितका विषयमा छलफल हुनेछ ।

रक्षामन्त्री फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement