राष्ट्रपति भण्डारीको चीन भ्रमणपछि किन आउंदैछन् चिनियां विदेशमन्त्री नेपालमा ?


काठमाडौं-  प्रतिनिधिसभा निर्वाचनपछि स्थापित राजनीतिक स्थायित्वसँगै नेपाल–चीन उच्चस्तरीय कूटनीति भ्रमणको तयारी भइरहेको छ ।

भ्रमणअन्तर्गत पहिलो चरणमा नेपालका तर्फबाट राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि दुवै देशका तर्फबाट उच्चस्तरीय तयारी भइरहेका छन् ।

आगामी अप्रिल २४ र २५ तारिखमा चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने निश्चित भइसकेको छ । चीनले निकै महत्व दिएर सारेको बेल्ट एन्ड रोड इनिसिएटिभको दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी वेइजिङ जाने तयारीमा छन् । नेपालले ओबीओआरमा २०१६ मा नै हस्ताक्षर गरिसकेको छ ।  

केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमण र राजनीतिक स्थायित्वले गर्दा चीनसँग सम्बन्ध सुमधुर र निकट हुँदै गएको छ । यसबीच चीन सरकारका विभिन्न तहका टोलीले नेपालको भ्रमण गर्दै सहयोग आदान–प्रदानको अध्ययन र सम्भावनाबारे छलफल समेत गरेका छन् । चिनियाँ र नेपाली टोलीबीच भएका समझदारीलाई मूर्तरुप दिन उच्चस्तरीय छलफल र भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चीनसँग भएको व्यापार तथा पारवहन सम्झौतालाई राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा अन्तिम रुप दिने तयारी समेत भएको बताइएको छ । 

राष्ट्रपति भण्डारीको चीन भ्रमणपछि चिनियाँ विदेशमन्त्रीको नेतृत्वमा उच्चस्तरिय टोली नेपाल आउने र राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी हुने जनाइएको छ । राष्ट्रपति भण्डारीको भ्रमण समेत चिनियाँ राष्ट्रपति नेपाल आउने भ्रमणसँग जोडिएको स्रोतको दाबी छ । विक्रम संवत् २०७६ भित्रै चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनेमा सरकारी अधिकारी विश्वस्त छन् । चिनियां स्रोतकाअनुसार त्यसको लागी भण्डारीको भ्रमणपछि चिनबाट उच्चस्तरबाटै सक्रियता सुरु हुनेछ । 

राष्ट्रपति सी जिनफिङले नेपाल हुँदै भारत लगायत दक्षिण एसियाली मुलुकमा भ्रमण गर्ने कार्यतालिका बनिरहेको चिनियाँ स्रोतले जनाएको छ । पछिल्लो समय चीनले दक्षिण एसियाली राष्ट्रलाई विशेष महत्वका साथ हेर्र्ने गरेको छ । झन् नेपालसँग सीमा नै जोडिएकाले चीनले नेपाललाई प्राथमिकतामा राखेको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमणपछि चिनियाँ सहयोग प्रभावकारी हुँदै जाने नेपाली अधिकारीको दाबी छ । प्रधानमन्त्री ओलीले चीनबाट रेल ल्याउने लगायतका परियोजनलाई महत्वका साथ हेरेका छन् । दुवै देशबीच हुन गइरहेका उच्चस्तरीय भ्रमणले नेपाल–चीन सहयोग आदान–प्रदानमा ठूलो टेवा पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement