चिनियां रक्षामन्त्री आज नेपाल आउंदै,ठुलो मात्रामा सैनिक सहयोग घोषणाको तयारी


काठमाण्डु– दुई दिने नेपाल भ्रमण सकेर भारतिय विदेशसचिव फर्केकै भोलिपल्ट चिनियां रक्षामन्त्री वेई फङ्गह आज काठमाण्डु अवतरण गर्दैछन् । परराष्ट्रस्रोतकाअनुसार चिनियां रक्षामन्त्री वेईको आज बिहान १० बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ओर्लने कार्यक्रम छ ।

उनी त्यहांबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । जहां चिनियां दूतावासले आयोजना गरेको द्धिदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा उनि सहभागी हुनेछन् ।

त्यसपछि उनले सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासंग पहिलो भेटवार्ता गर्नेछन् । नेपाली सेनाले उनको भ्रमणको तयारीको लागी चीनबाट नेशनल डिफेन्स कोर्स गरेका उपरथी बालकृष्ण कार्कीलाई खटाइसकेको छ । चिनियां रक्षामन्त्रीले नेपाली सेनालाई सैनिक सामाग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्रोत दावी छ ।

उनले सेनालाई आवश्यक पर्ने सैनिक सहयोगको घोषणा गर्ने तयारी चिनियां पक्षको छ । त्यसका साथै दुवै देशका सेनाबीच यसअघि हुंदै आएको र अहिले रोकिएको सगरमाथा फ्रेण्डसिप सैन्य अभ्यासलाई सुचारु गर्ने विषयमा समेत छलफल हुनेछ ।

तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेलले सन् २०१९ को अक्टोबरमा चीनको भ्रमण गरेका थिए । उनको भ्रमणका बेला १ सय ५० मिलियन चिनियां आरएमबी बराबरको सैन्य सहयोग नेपाली सेनालाई दिने सहमतिमा हस्ताक्षर समेत भएको थियो । त्यसपछि गत जुलाईमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको समेत चीन भ्रमण भएको थियो ।

त्यसैको निरन्तरतास्वरुप चीनबाट उच्चस्तरको भ्रमण हुन लागेको हो । तत्कालिन रक्षामन्त्री पोखरेलले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।चीनले कोभिड १९ को बेला नेपाली सेनालाई केही सहयोग सामाग्री हस्तान्तरण गरेको थियो । यो भ्रमणमा बांकी सहयोगलाई अघि बढाउने विषयमा नेपाली सेनाले चिनियां रक्षामन्त्रीसंग छलफल गर्ने तयारी छ ।

त्यसका साथै कोभिड १९ को कारण अवरुद्ध तालिम र अन्य सैनिक सहयोगलाई सुचारु गर्ने विषय समेत प्रधानसेनापति थापाले भेटमा उठाउनेछन् । कोभिडको कारण नेपाली सेनाका अधिकृत चीन जान र चिनियां जनमुक्ति सेनाका अधिकृतहरु नेपाल आउने क्रम रोकिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले चिनियां रक्षामन्त्रीसंगको भेटमा द्धिपक्षिय सैनिक सहयोग र सहकार्यलाई सुचारु गर्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए । उनले भने ‘उहांसंगको छलफल मुख्यगरी कोभिडको कारण रोकिएका सैनिक सहयोग र सहकार्यलाई सुचारु गर्ने र द्धिपक्षिय सम्बन्धलाई मजबूत बनाउनेमा केन्द्रित हुन्छ । ’ चिनियां रक्षामन्त्री वेइलाई सैनिक मुख्यालय भ्रदकालिमै ‘गार्ड अफ अनर’ प्रदान गर्ने सेनाको तयारी समेत छ ।

चिनियां रक्षामन्त्री वेइ एक दिने भ्रमणको लागी नेपाल आउंदैछन् । उनले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति थापासंगै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलसंग भेटवार्ता गर्नेछन् ।

दिउंसो दुई बजेपछि मात्र चिनियां रक्षामन्त्री वेइको औपचारिक भेटघाट सुरु हुनेछ । उनी राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रधानसेनापति थापालाई भेटेपछि सोझै विमानस्थल जाने कार्यक्रम छ । त्यहांबाट वेई बंगलादेश र त्यसपछि पाकिस्तान भ्रमणमा जानेछन् । उनको भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयका साथै द्धिपक्षिय हितका विषयमा छलफल हुनेछ ।

चिनियां राष्ट्रपति सी चिनफिंगले गत वर्षको अक्टोबर १२–१३ मा नेपालको भ्रमण गरेका थिए । त्यसयता चीनबाट उच्चस्तरिय भ्रमण भएको छैन् । चीनको स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे चिनियां राष्ट्रपतिको भ्रमणपछि नेपाल आउने पहिलो उच्च चिनियां अधिकारी हुनेछन् । उनि चिनियां राष्ट्रपतिका विश्वासिला नेता हुनुका साथै पहिलो नम्बरका स्टेट काउन्सिलर समेत हुन् ।

यसअघि चिनियां जनमुक्ति सेनाको रकेट फोर्स कमाण्डर रहेका उनि केन्द्रीय सैन्य आयोगका पहिलो नम्बरमा सदस्य हुन् । उक्त आयोगको चिनियां राष्ट्रपति सी अध्यक्ष छन् । त्यसअघि वेइ चिनियां जनमुक्ति सेनाको डेपुटी चिफ अफ स्टाफको जिम्मेवारीमा थिए ।

पछिल्लो समय भारतबाट रअका प्रमुख र सेनाप्रमुखसहित उच्चस्तरको राजनीतिक भ्रमण भएसंगै चीनबाट पनि त्योभन्दा माथिल्लो स्तरबाट भ्रमण हुन लागेको हो । भारत र अमेरिकाबीच दक्षिण एसियामा रणनैतिक साझेदारी बढेसंगै यो क्षेत्रमा चिनियां चांसो पनि बढेको हो ।

दक्षिण एसियामा चिनियां प्रभाव घटाउने विषयमा अमेरिका र भारत एउटै मंचमा आएपछि चिनले पनि आफ्नो उपस्थितीलाई मजबूत बनाउन लागेको विश्लेषकहरुको दावी छ । छिमेकी मुलुक भारतले पनि दक्षिण एसियाका सवै मुलुकहरुसंग सम्बन्ध सुधार गर्ने रणनीति अख्तियार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement