जिल्ला अदालत काठमाडौंबाट चिनियाँ सुटकेस गायव


काठमाडौ‌ – कंगोबाट संरक्षित वन्यजन्तु सालकको खबटा लुकाएर काठमाडौं ल्याइएका ६ वटा सुटकेस जिल्ला अदालत काठमाडौंबाट गायब पारिएको छ। सालकका खबटा भने प्लास्टिकको झोलामा राखेर जिल्ला वन कार्यालय, काठमाडौं ल्याइएको छ।

सुटकेससहित समातिएका दुई चिनियाँ नागरिक पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा छन्। गत माघ १५ मा टर्किस एयरलाइन्स (टीके ०७२६) इस्तानबुलबाट काठमाडौं आएका चिनियाँ नागरिकद्वय ३८ वर्षीय क्यु गोरुङ र ३३ वर्षीय क्यु लिबाओ विमानस्थल भन्सार कार्यालयको रेड च्यानल क्षेत्रको एक्स–रेमा जाँचका क्रममा ६ थान सुटकेस (लगेज) सहित पक्राउ परेका थिए।

सुटकेस खोलेर हेर्दा संरक्षित सूचीको सालकको खबटा (आखेटोपहार) प्लास्टिकमा पोको पारेर राखिएको फेला परेपछि उनीहरूलाई पक्राउ गरी वन कार्यालय, काठमाडौंको जिम्मा लगाइएको थियो । सालकका खबटासहित जिल्ला अदालत, काठमाडौंमा पेस गरिएका ६ वटा सुटकेस त्यहीँबाट गायब पारिएको खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।

वन कार्यालयले सरकारी वकिलको निर्णयअनुसार बरामद सुटकेस र सालकको खबटासहित दुवै जनालाई जिल्ला अदालत, काठमाडौंमा पेस गरेको थियो । जिल्ला अदालतले चिनियाँलाई पुर्पक्षका लागि थुनामा पठायो भने उनीहरूबाट बरामद खबटा प्लास्टिकमा पोको पारेर वन कार्यालय, काठमाडौंको जिम्मा लगायो।

चिनियाँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सांगठनिक अपराधअन्तर्गत अनुसन्धान थाल्दै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण ऐन– २०७४ अनुसार मुद्दा दायर गरेको छ । उनीहरूबाट बरामद मोबाइलमा बाघको दाँत, रक्तचन्दन, कछुवा, गोही, जरायो, गैंडा, सर्प र सालकका खबटाको तस्बिर र भिडियो ग्रुप च्याटमा पठाएको पाइएपछि अरूसमेत तानिन सक्ने भएकाले उनीहरूविरुद्ध सांगठनिक अपराध ऐनअनुसार मुद्दा चलाइएको हो।

अन्तिम फैसला नहुन्जेल बरामद सबै सामान सुरक्षित राख्नुपर्नेमा बीचमै सुटकेस गायब पारिएको भन्दै वन विभागले महान्यायाधिवक्ता अग्नि खरेलसमक्ष जानकारी माग्दै पत्राचार गरेको छ । ‘मुद्दाको किनारा नलाग्दासम्म सबै प्रमाण सुरक्षित राख्नुपर्नेमा किन बरामद भएको वस्तु (खबटा) मात्र वन कार्यालय फिर्ता गरिएको हो भनेर सोधेका छौं,’ वन विभागका वरिष्ठ अधिकारीले भने, ‘यसरी दसीप्रमाण नष्ट गर्दा अनुसन्धान पूर्ण हुँदैन।’

जिल्ला अदालत, काठमाडौंका स्रेस्तेदार कृष्णप्रसाद नेपालले पुरानो आदेश भएकाले ‘हेर्नुपर्ने’ बताए । अन्तिम फैसला नभएसम्म बरामद सबै सामान सुरक्षित राख्ने नियमअनुसार १६२ किलो सालकको खबटा जिल्ला वन कार्यालय, काठमाडौंको हात्तीसारस्थित स्टोरमा राखिएको छ।

विधिविज्ञान प्रयोगशालाले चिनियाँबाट बरामद वस्तु सालकको खबटा नै भएको पुष्टि गरेपछि उनीहरूलाई साइटिस ऐनअनुसार मुद्दा चलाइएको हो । उनीहरूबाट बरामद खबटा ‘मनिस गिगान्तेन’ प्रजातिका सालकको भएको पुष्टि भएको छ । उक्त प्रजाति साइटिसको अनुसूची १ मा सूचीकृत छ।

साइटिस ऐनको दफा २० को (क) र २१ को (क) अनुसार कसुर दण्ड हुने गरी मुद्दा चलाइएका उनीहरूमाथि ५ देखि १५ वर्षसम्म कैद वा पाँच लाख देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ।

बयानका क्रममा उनीहरूले एउटा सुटकेसको (२७ किलो) को २२० का दरले जम्मा १३२० अमेरिकी डलरमा कंगोका एक व्यक्तिबाट खरिद गरेको बताएको वन कार्यालय स्रोतले जनायो । सालकका खबटाको सुप सेवनबाट हेपाटाइटिस बी निको हुने सुनेर आफूहरूले खरिद गरेको उनीहरूको बयान छ । ‘घरायसी प्रयोजन, आफूलाई लागेको रोग निको पार्न र छिमेकीलाई वितरण गर्ने उद्देश्यले कंगोबाट नेपाल हुँदै चीन लान खोजेको देखिन्छ,’ वन कार्यालय स्रोतले भन्यो।

यसमा चिनियाँ नागरिक (पासपोर्ट नम्बर ईबी ५९५१२३०) लि कुन्ताङ, बंगलादेशी नागरिक (पासपोर्ट नम्बर बी क्यू ०५६२६८२) का मो मयेजुद्दिन मियान र बारा मनहर्वा–६ का उमेश चौधरीको समेत संलग्नता भएको भन्दै सीआईबीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement