वितरण हुन थाल्यो चिनी, किलाेकाे कति ?


काठमाण्डु- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ । साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ किलोमा बिक्री सुरु गरिएको खाद्य व्यवस्था विभागले जनाएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले थापाथली केन्द्रमा चिनी उपलब्ध भएको बताउनुभएको हो ।

यसैबीच साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो । प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ ।

कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् । कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।

दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् ।

सरकारले कर्पोरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ । कर्पोरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement