काठमाण्डु– नेपाल–चीनका उत्तरी सीमा नाका बाढी तथा पहिरोका कारण प्रभावित भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोली मुस्ताङ पुगेको छ।
राजदूत माओमिङसहित ७ सदस्यीय चिनियाँ टोली शनिबार कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको हो।
टोलीमा ५ जना चिनियाँ अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चिनियाँ राजदूत तीनदिने भ्रमणका क्रममा लोमान्थाङ पुगेका हुन्। टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको छ। भ्रमणका क्रममा कोरला नाकाको अवस्था, पूर्वाधार तथा नाका सञ्चालनका सम्भावनाबारे स्थलगत जानकारी लिने कार्यक्रम रहेको बताइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले राजदूत माओमिङ कोरला नाका हुँदै मुस्ताङ आएको पुष्टि गरिन्। उनका अनुसार राजदूतको सुरक्षा व्यवस्थासमेत मिलाइएको छ।
‘चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन, चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, उहाँ शनिवार दिउँसो कोरला नाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ ।’सीडिओ शर्माले भनिन् ।
यसअघि चिनियाँ दूतावासको पहलमा सरकारी अधिकारीसहितको टोलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाकासम्मको सडक तथा भौतिक अवस्थाको स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि कोरला नाकाको अवस्थासमेत अध्ययन गरेर नेपाल–चीनबीच कुन उत्तरी नाका सञ्चालनमा ल्याउन सकिने भन्ने विषयमा निर्णय गर्ने तयारी भएको थियो।
कोरला नाकाबाट लोमान्थाङ हुँदै टोली जोमसोम पुग्नेछ। जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका सम्बन्धित अधिकारीबीच कोरला नाका सञ्चालनसम्बन्धी छलफल हुने तयारी रहेको बताइएको छ। बैठकपछि राजदूत माओमिङ पुनः लोमान्थाङ फर्किने र भ्रमणको अन्तिम दिन कोरला नाका हुँदै चीन फर्किने कार्यक्रम छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाबाट चिनियाँ राजदूतको यो पहिलो उच्चस्तरीय भ्रमण हो। उनका अनुसार कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा नाकाको समग्र अवस्थाबारे स्थलगत अनुगमन गर्न भ्रमण भएको हो।
लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्दै आएको थियो ।




प्रतिक्रिया