समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू निर्वाचित भए : अध्यक्ष केसी


काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू निर्वाचित भएको भन्दै पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताए ।

उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न नसक्ने दाबी गरे । समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेको उनले बताए ।

शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका बताउँदै उनले यसको औचित्यमाथि प्रश्न गरेका छन् ।

उनले भने, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न सक्दैन, विपनाको कुरा छाडिदिऊँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो । समानुपातिकमा पार्टीभित्रका सबैभन्दा धनाढ्य, पहुँचवालाहरू आएपछि त्यसको औचित्य के ? समानुपातिकमा पटक–पटक शक्ति, सम्पत्ति भएकाहरू दोहोरिएर आउने हो भने यसको औचित्य रहन्न ।’

प्रतिक्रिया दिनुहोस
Advertisement