राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र

राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र


काठमाण्डु- अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् ।

क्यानबेरामा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेटसमेत गरेकी छन् ।

त्यस अवसरमा राजदूत यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेकी छन् । क्यानबेरास्थित नेपालको राजदूतावासका अनुसार राजदूत यादवले राष्ट्रपति पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमण गर्न आमन्त्रणसमेत गरेकी छन् ।

साथै गभर्नर जनरल र राजदूत यादवबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचारविमर्श भएको छ ।

पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गरेकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।