काठमाण्डु-नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताए ।
बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।
यद्यपि बसमा सवार व्यक्तिको संख्या अझ आधिकारिक थाहा नभएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार बसमा सवार यात्रुको अझै उद्धार गर्न समस्या भइरहेको छ ।
कालिखोलामा पहिरो गएकोले बाटो अवरुद्ध छ । प्रहरीसहितको गोताखोर टोलीले अहिले एकतर्फी बाटो खुलाउने प्रयास गरिरहेको छ । डिएसपी रिजालका अनुसार चाँडै बाटो एकतर्फी सञ्चालन गरेर उद्धार कार्य अघि बढाइने छ ।
वीरन्जबाट काठमाडौँ आउँदै गरको बागमती प्रदेशको १५१६ नम्बरको एउटा बसको मात्रै नम्बर खुलेको उनले बताए । ‘काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बस गणपति डिलक्स भनिएको छ । तर, नम्बर खुलेको छैन,’ डीएसपी रिजालले भने । तीन जना यात्रु भने नदीबाट पौडिएर निस्किएका डीएसपी रिजालले बताए। तर, उनीहरुको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।
घटनास्थलमा अहिले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल प्रहरीका एसपी भावेष रिमालसहितका अधिकारी पुगेका छन् ।
सशस्त्र प्रहरीको गोताखोर टोली पनि बेपत्ता यात्रु र बसको खोजीमा परिचलित भएको छ । रातभरको वर्षाले नदीमा ठूलो बाढी आएकाले बेपत्ताको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
यता, निरन्तर परेको पानीका कारण घटनास्थलसम्म पुग्न मुस्किल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठाउँ-ठाउँमा खसेको पहिरोका कारण गोताखोरको टोली जाममा परेका कारण घटनास्थलसम्म आइपुग्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा बसको थोरै भाग देखिएको छ ।
प्रतिक्रिया