जिल्ला प्रहरी कार्यालय चितवनमा रवि लामेछानेका समर्थक र प्रहरीबीच झडप,५ प्रहरी घाइते


काठमाडौं – जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ टेलिभिजन प्रस्तोता रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ। प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो ।

शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए । रविको समर्थनको नाममा भरतपुरमा दिनभर प्रदर्शन भएको थियो । त्यसक्रममा प्रहरीले ५ जना भन्दा धेरैलाई पक्राउ गरेको थियो।

यसैबीच जिल्ला अदालतले चितवनले रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीमाथि अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको छ। न्यायाधीश विनोदकुमार गौतमको इजलासले बिहीबारदेखि पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement