काठमाण्डु– नेपाली चियामा भारतीय पक्षले अवरोध गरेको विषय सदन्मा पुगेको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नरेन्द्रकुमार केरुङले भारतको अवरोधका कारण चिया उद्योगहरू संकटमा परेको बताएका हुन् ।
उनले भने “चिया उद्योग बन्द हुने अवस्था आउँदा श्रमिकले रोजगारी गुमाउनाका साथै उत्पादित चिया खेर जाने स्थिति सृजना भएको छ,चिया निर्यात समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
यस्तै नेकपाका सांसद युवराज दुलालले पनि नेपालको चिया निर्यातमा परेको असरबारे सरकारको ध्यान किन नगएको भनेर प्रश्न गरेका छन् ।
भारतले गुणस्तर जाँचको बहानामा पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा कडाइ गरेपछि आजबाट इलाम सूर्योदयका ५३ उद्योग बन्द भएका छन् ।
भारतीय बजारमा पुगेको ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ ।
सूर्योदय नगरपालिकामा २ हजार ९९५ चिया किसान छन् । त्यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको छ, जहाँबाट वार्षिक दुई करोड किलो हरियोपत्ती उत्पादन हुन्छ ।




प्रतिक्रिया