भोलिदेखि झापाका सबै चिया उद्योग अनिश्चितकालका लागि बन्द

भोलिदेखि झापाका सबै चिया उद्योग अनिश्चितकालका लागि बन्द


काठमाण्डु– नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै झापाका चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि झापाका चिया उद्योगीले उक्त कदम चालेका हुन् ।

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रहेको र त्यसमध्ये करिब ५ अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताए ।

नेपाल चिया उत्पादक संघ झापाले भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जानकारी दिएका छन् ।

उनले विकल्पमा बंगलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदन सरकारसँग माग गरे ।

त्यहाँकाे चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक १ अर्ब राजस्व बुझाउँदै आएको छ ।