इन्डो–प्यासेफिक क्षेत्रका सेनापतिहरुको सम्मेलनः प्रभुराम शर्माले पाए निम्तो


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई इन्डो–प्यासेफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलन (चोड) मा निमन्त्रणा आएको छ । अस्ट्रेलियामा हुन लागेको उक्त सम्मेलनमा शर्मालाई निम्तो आएको हो ।

सम्मेलन जुलाई २५ देखि २७ सम्म अस्ट्रेलियामा आयोजना हुन लागेको छ । सम्मेलनमा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको सहभागिता हुनेछ । अमेरिका भ्रमण सकेर आइतबार स्वदेश फर्केका शर्मालाई प्राप्त भएको निमन्त्रणाबारे सेनाले सरकारलाई जानकारी गराइसकेको छ ।

सरकारले अहिलेसम्म उनको भ्रमणको लागि स्विकृति नदिएको स्रोतको दावी छ । यसअघि नेपाली सेनाबाट प्रधानसेनापति वा रथीको तहबाट उक्त सम्मेलनमा सहभागिता हुने गरेको थियो ।

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डले उक्त सम्मेलनको आयोजना गर्दै आएको छ । अमेरिकाले प्यासेफिक क्षेत्रमा सैनिक सम्बन्ध मजबूत बनाउंदै गएको छ । अमेरिकी सेनाको प्यासिफिकका कमान्डर जनरल चाल्र्स ए फ्लिन तीन साताअघि नेपाल भ्रमणमा आएका थिए ।

उनले भ्रमणको क्रममा स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी ) अघि बढाउन राजनीतिक र सैनिक नेतृत्वसंग आग्रह गरेका थिए । तर, सम्झौता अघि नबढाउन चौतर्फी दबाव भएसंगै सरकारले त्यसलाई अघि नबढाउने निर्णय गरिसकेको छ । प्रधानसेनापति शर्माको अमेरिका भ्रमणका क्रममा समेत कुनै सम्झौता अघि नबढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement