काठमाण्डु – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले पक्राउ गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका छन् ।
‘पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीका सम्वन्धमा सरकारी अधिकारीहरूवाटै परस्पर विरोधि धारणा सार्वजानिक हुनु गम्भीर चिन्ताको विषय हो’ प्रवक्ता चालिसेले भनेका छन, ‘सरकारी अधिकारीहरूबाटै आइरहेका विरोधाभासपूर्ण अभिव्यक्तिहरूले यो गिरफ्तारीको कानुनी आधार र औचित्यमाथि नै प्रश्न उठाएका छन्। यदि गिरफ्तारी कानुनसम्मत र आवश्यक थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नु पर्दछ।’
कांग्रेसले अपराध अनुसन्धान र कानुन कार्यान्वयनको प्रक्रियामा आफू बाधक नभएको स्पष्ट पादैै कानुन कार्यान्वयनको आडमा देखाइएको अस्पष्ट र अन्योलपूर्ण प्रक्रियालाई कांग्रेसले अस्वीकार गरेको छ।
‘कानुनको शासन भनेको राज्यले कानुन प्रयोग गर्नु मात्र होइन, राज्यका सबै निकायहरू स्वयं संविधान र कानुनको सीमाभित्र रहनु हो’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले अनुसन्धान निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै यदि कसैले कानुन उल्लङ्घन गरेको खण्डमा प्रमाणका आधारमा कारबाही हुनुपर्ने र दोषी ठहरिए कानुनबमोजिम सजाय हुनुपर्ने धारणा व्यक्त गरेको छ ।




प्रतिक्रिया