धनगढी प्रिमियर लिग : टिम चौराह धनगढी प्ले अफमा


धनगढी- रुपन्देही च्यालेन्जर्सलाई तीन रनले हराउँदै टिम चौराह धनगढी ‘रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)’को प्ले अफमा पुगेको छ ।शनिबार सम्पन्न दोस्रो खेलमा रुपन्देहीले टस जितेर फिल्डिङ रोजेपछि टिम चौराह धनगढीले आठ ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनायो । रुपन्देहीले ७७ रनको लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो ।

गएराति पानी परेपछि मैदान हिलाम्य भएको थियो । खेल २० ओभरबाट घटाएर आठ ओभरमा सीमित गरिएको थियो । धनगढीका लागि सोनु तामाङले विष्फोटक पारी खेले । उनले १४ बल खेल्दै चार छक्का र एक चौकासहित ३४ रन बनाए । रोहन मुस्तफाले १३ बलमा १५ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका सुशन भारीले तीन, दीपेश श्रेष्ठले दुई तथा सागर पुन र कप्तान शक्ति गौचनले एक/एक विकेट लिए । ब्याटिङ गर्ने क्रममा रुपन्देही च्यालेन्जर्सका लागि सागर पुनले सर्वा्धिक ३३ रन बनाए । उनले १६ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गरे । दीपक प्रसादले १६ रन बनाए ।

बलिङतर्फ धनगढीका रोहन मुस्तफाले दुई तथा ललितसिंह भण्डारीले एक विकेट लिए । प्लेयर अफ द म्याच धनगढीका सोनु तामाङ भए । उनले रु १० हजार पुरस्कार पाए ।

आइतबार पहिलो खेल विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच तथा अर्को खेल महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्सबीच हुनेछ । काठमाडौँ गोल्डेन्स, टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड प्रतियोगिताको प्ले अफमा पुगेका छन् भने आइतबार हुने विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीचको खेलको विजेताले प्ले अफमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement