शर्माको थुनुवासम्बन्धी रिटको सुनुवाइ सकियो, निर्णय शुक्रबार


 काठमाडौं, साउन – सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिटबारेको निर्णय आगामी शुक्रबार सुनाउने भएको छ।

 

सर्वाेच्चमा दायर रिटमाथि न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशमा बुधबार सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउन लागिएको हो। भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा पक्राउ परेका शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए अनुसार थुनामा राखिएको छ। सर्वोच्च अदालतको आदेशमा गत मंगलबारदेखि शर्मालाई न्यायिक हिरासतमा राखिएको छ।

 

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनीरूपमा थुनामा राखेको जिकिरसहित गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।
कर फछ्र्यौट आयोगका सदस्य सचिवसमेत रहेका शर्मामाथि एनसेललाई स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई उन्मुक्ति दिएको २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको अख्तियारको दाबी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement