काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालित ठेक्काहरूको स्वीकृति, रेखदेख, भुक्तानी तथा सहजीकरणका क्रममा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।
अख्तियारका अनुसार घुस रकम लुकाउन अधिकारीले श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ मा रहेको १३ आना जग्गा खरिद गरेका थिए । जग्गाको वास्तविक कारोबार रकम लुकाई राजीनामामा ९१ लाख रुपैयाँ मात्र देखाइएको तथा बाँकी रकमको स्रोत वैध देखाउने उद्देश्यले बैंक खातामार्फत कारोबार गरिएको आयोगको दाबी छ ।
यस प्रकरणमा गायत्री निर्माण सेवा तथा कम्पनीका प्रमुख प्रेम प्रकाश ढकालमाथि पनि घुस दिएको, सहजीकरण गरेको तथा सम्पत्ति शुद्धीकरण कसुरमा सहयोग गरेको आरोप लगाइएको छ ।
आयोगले प्रदीप अधिकारी र प्रेमप्रकाश ढकाल दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत घुससम्बन्धी कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा कारबाहीको माग गरेको छ ।
अख्तियारले दुवै प्रतिवादीबाट १ करोड ७१ लाख रुपैयाँ बिगो, सो बराबरको जरिवाना, कैद सजाय तथा घुस रकमबाट खरिद गरिएको ललितपुरस्थित जग्गा जफत गर्न पनि विशेष अदालतसमक्ष मागदाबी गरेको जनाएको छ ।
आयोगका अनुसार प्रदीप अधिकारी राष्ट्रसेवक कर्मचारी भएकाले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार थप सजायको समेत माग गरिएको छ ।




प्रतिक्रिया