झूटा बिल पेश गरी भुक्तानी दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिृकतसहित ७ जनाविरुद्ध मुद्दा


काठमाण्डु – हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनीयर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले चंखेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनीयर रुद्रबहादुर वली, सहायक सबइन्जिनीयर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली–३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध बिहीबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ ।

आरोपीहरूले हुम्लाको सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएकोभन्दा बढी कामको मूल्यांकन गराएको, झूटा बिल तथा काम सकिएको प्रतिवेदन तयार गरी पेश गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनीयर वली, सहायक सबइन्जिनीयर बुढा, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाट २ लाख २२ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

चंखेली गाउँपालिका–३ का वडाध्यक्ष शालिग्राम ऐडीलाई सजाय मात्रै माग भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement