सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सोलुखुम्बुको साबिक जुभिङ्ग गाविस–५ को कित्ता नम्बर ५७९ र ५८१ को सरकारी जग्गा नक्कली श्रेस्ता खडा गरी/गराई व्यक्तिको नाममा दर्ता गरिएको आरोप छ ।

आयोगले उनीहरूविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ ।

आयोगले सोलुखुम्बु नापी कार्यालयका तत्कालीन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका–१ बस्ने बुद्धमाया थापा मगर र उनका नाति रामकृष्ण थापा मगरलाई पनि विपक्षी बनाएको छ ।

अख्तियारले फुरगेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पादिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमाल्हमू शेर्पालाई पनि प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement