पोशाकमा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका हाकिम सा’पसहित ४ जनाविरुद्ध मुद्दा दायर

पोशाकमा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका हाकिम सा’पसहित ४ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डु – धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले यादवसहित लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादवले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित वडा नम्बर ९ को श्री आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाइ अभिवृद्धि कार्यक्रमअन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको आरोप लागेको जानकारी दिए ।

विद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रूपमा दरभाउपत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनुपर्नेमा सो नगरी पालिकामा सूचीकृत रहेको भनी ३ वटा आपूर्तिकर्ताको झूटा दरभाउ पत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकन समेत नगराई कार्यालयको टिप्पणी आदेशमार्फत भुक्तानी दिइएपछि अख्यिायारले मुद्दा दायर गरेको छ ।

पाइन्ट, स्कर्ट, सर्ट, जुत्ता, टाई, बेल्ट र मोजा समेत ७ प्रकारका पोशाक सामग्री एकमुष्ट रूपमा २९५ सेटबापत ९ लाख ९६ हजार ६६० रुपैयाँ रकम मजदुर होजियारीका प्रोप्राइटर रामसुन्दर साह तेलीलाई भुक्तानी दिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयलाई बुझाइएका सामग्रीको मूल्य यकिन गर्दा प्राप्त दररेट अनुसार ४ लाख ६१ हजार ९५० रुपैयाँ मात्रै पर्ने देखिएको र ५ लाख ३४ हजार ७१० रुपैयाँ बराबरको रकम अस्वाभाविक देखिएकाले सो रकम बिगो असूल हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर भएको जनाइएको छ ।