सीआईबीले भन्यो – च्याम्पियन फूटवेयरका नाममा कीर्ते गरेर जग्गा हिनामिना गरियो


काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले च्याम्पियन फूटवेयरका नाममा सरकारको जग्गा हिनामिना भएको बताएको छ ।

काठमाण्डुस्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा अरुण चौधरी लगायत ३ जनालाई पक्राउ गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै सीआईबीले च्याम्पियन फूटवेयरका नाममा सरकारी जग्गा जालसाजी गरेको पाइएको जनाएको छ ।

सीआईबीले फूटवेयरलाई जग्गाको हक हस्तान्तरण गर्ने बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरिसकेको छ ।

सीआईबीको प्रेस विज्ञप्तिमा मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७/०७/२० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम भएको काठमाण्डु जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–० जग्गा श्री ५ को सरकारको निर्णय विना सञ्चालक समितिलाई समेत कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानून विपरीत सञ्चालक समितिले आफूलाई फाइदा र श्री ५ सरकारलाई हानिनोक्सानी गर्ने उद्देश्यले काम गरेको उल्लेख छ ।

सीआईबीका प्रवक्ता नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई हानिनोक्सानी गर्ने उद्देश्यले मिति २०४३/०५/१० गते बाँसबारी छालाजुत्ता कारखानाको तर्फबाट कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापाले अरुण चौधरी समेत सञ्चालक रहेको च्याम्पियन फूटवेयर लिमिटेड नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पुँजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरी क्यान्भास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाण्डु साविक नगर २२ (छ) कि.नं. ५० को १८–३–२–० मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको च्याम्पियन फूटवेयर लि.को जारी पुँजी ५० लाख रहेकोमा सो पुँजीको २५ प्रतिशत शेयर लिने गरी तत्कालीन सञ्चालक समितिले निर्णय गरेको सम्झौताबमोजिम रु. १२ लाख ५० हजार लगानी गर्नुपर्नेमा रु. २६ लाख २७८।२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्‍याई आफूहरूले आर्थिक लाभ लिएको सम्बन्धमा साबिक मुलुकी ऐन, २०२० को कीर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसूर अनुसन्धानका लागि निम्न मानिसलाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान भइरहेको ।’

प्रतिक्रिया दिनुहोस
Advertisement