कर्जा लिएर ४८ करोड दुरुपयोग आरोपमा बुटवलका शर्मा पक्राउ

कर्जा लिएर ४८ करोड दुरुपयोग आरोपमा बुटवलका शर्मा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा रकम दुरुपयोग गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ५८ वर्षीय शशिधर शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

प्रतिवेदनअनुसार एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो । तर कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतपत्र तयार गराई कर्जा रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध रहेका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको आरोप छ ।

प्रहरीका अनुसार यसरी कर्जा रकम दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कर्जा दुरुपयोग गर्न नहुने व्यवस्थाको उल्लंघन भएको भन्दै नेपाल राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो ।

सोही आधारमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाण्डु महानगरपालिका–९ पिङ्गलास्थानबाट आरोपितलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ ।