काठमाण्डु – राजस्व चुहावटसम्बन्धी मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई २०८३ मंसिर २ गते वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गरी कारोबार गरेको राजस्व चुहावटसम्बन्धी मुद्दामा श्रीवास्तवलाई उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय सुनाएको थियो ।
राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरका निर्देशक तथा अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्य समेतको प्रतिवेदन जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा श्रीवास्तव ५ वटा कम्पनीका सञ्चालक तथा प्रोपाइटरका रूपमा प्रतिवादी रहेका थिए ।
श्रीवास्तव संलग्न रहेको भनिएका संग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलले झुट्टा तथा नक्कली मूअकर बिजक जारी गरी कारोबार गरेको अभियोगमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर भएको थियो ।
रौतहटको साविक जयनगर गाविस वडा नम्बर ४ हाल गरुडा नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका ३३ वर्षीय श्रीवास्तव सजाय कार्यान्वयन नभई फरार रहेका थिए ।
पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।



प्रतिक्रिया