इजरायल पठाइदिने भन्दै अढाई करोड भन्दा बढी ठगी, थप पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह

इजरायल पठाइदिने भन्दै अढाई करोड भन्दा बढी ठगी, थप पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल सरकार र इजरायल सरकारबीचको ‘जी२जी’ प्रक्रियाअन्तर्गत केयरगिभर रोजगारीमा इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

उक्त ठगी प्रकरणमा अनुसन्धानलाई थप बलियो बनाउन अन्य पीडितहरूलाई जाहेरी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आग्रह गरेको छ।

सीआईबीका अनुसार सन् २०२४ मा इजरायलको केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए। तीमध्ये १ हजार १५२ जना प्रतिक्षा सूचीमा थिए।

अनुसन्धानका क्रममा पक्राउ परेका भरतप्रसाद चौलागाईंसहितले प्रतिक्षा सूचीमा रहेका युवाको वैदेशिक रोजगारीको आकाङ्क्षा र बाध्यताको फाइदा उठाउँदै पहिलो चरणमा १५६ जनालाई लक्षित गरेको खुलेको सीआईबीले जनाएको छ।

उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग आफ्नो चिनजान रहेको दाबी गर्दै मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने आश्वासन दिएको आरोप छ।

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्जी कागजातसमेत देखाएर योजनाबद्ध रूपमा रकम असुलिएको सीआईबीको सूचनामा उल्लेख छ।

यसरी पीडितबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेल्लो सरकार शाखा’को पत्र तथा विमल पराजुलीको जाहेरीका आधारमा सीआईबीमा ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो।

प्रकरणमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित चार जना पक्राउ परिसकेका छन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीले यस प्रकरणमा विभिन्न किसिमले पक्राउ परेका प्रतिवादीहरूबाट ठगिएका अन्य व्यक्तिलाई समेत यथाशीघ्र ब्यूरोमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ।

पीडितहरूले उपलब्ध प्रमाणसहित जाहेरी दिन सक्ने सीआईबीले जनाएको छ।