नागरिकता विधेयक पारित गर्न राष्ट्रियसभा सांसदको जोड


काठमाण्डु – राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले नागरिकता विधेयक पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले आजको बैठकमा बोल्दै नागरिकता विधेयकको विषय छिटो टंग्याउनुपर्ने बताए । नागरिकता विधेयक जतिसक्दो चाँडो राष्ट्रियसभाबाट पास गर्नुपर्ने उनको भनाई छ ।

‘नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ। राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नैपर्छ।’, उनले भने ।

त्यसैगरी सांसद खिमलालले पछिल्लो समयमा बढदै गएको महँगीको अन्त्य गर्नुपर्ने माग गरे। त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा राखेकी छन् ।

‘नागरिकताको विषयमा छिमेकी मुलुकको गरेको कानुनी व्यवस्था र प्रयोगलाई पनि हेरिनु पर्दछ, नागरिकता प्रदान गर्ने विधि सरल तर नागरिकतासम्बन्धी हाम्रो नीति भने कठोर हुनुपर्दछ,’ उनले भनिन्। नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरुपता हुनुपर्नेमा जोड दिएका दिएका छन् ।

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement