काठमाण्डु– मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । संसदीय दलको नेता हेरफेरसँगै जनमतले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई दलको नेताबाट हटाएर चन्दन कुमार सिंहलाई संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।
राउतले मधेश सरकारबाट पार्टी बाहिरिने निर्णय पार्टी र जनताको हितको लागि भएको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘जनताको सेवा र विकास नभए पदको के काम ? जनमत पार्टीद्वारा मधेश सरकारबाट बाहिरिने निर्णय पार्टी र जनताको हितको लागि। मधेश सरकारको गतिविधि र रवैयाले गर्दा जिल्ला जिल्लामा आमजनता र पार्टीका कार्यकर्ताहरू समेतमा चरम असन्तुष्टि बढ्दै गएको थियो।’हामीले विगत ५ महिनादेखि मधेश सरकारलाई पटक पटक सुझाव दिँदै आएका छौँ र सुधार गर्न अनुरोध गर्दै आएका छौँ, तर सोको कुनै सुनुवाइ भएन।’
यस्तै उनले थपेका छन् ‘पार्टीको भिजन अनुरूप सारेका ७० भन्दा गौरवका योजनाहरू अलपत्र छन्, तर कतै कुनै सुनुवाइ भएन। महिला कृषि स्वयंसेविका कार्यक्रम जस अन्तर्गत करिब १४०० महिलाले रोजगारी पाउने थिए, सबै कुरा भइसक्दा पनि अलपत्र पारिएको छ। यस्ता कैयन् फलदायी गौरवका योजनाहरूलाई पूर्णतः वेवास्ता गरिएको छ।’
उनले भनेका छन्, ‘जनताको हितमा कुनै काम नै नभई रहँदा र गलत कार्यहरू भइरहँदा जनमत पार्टीले सरकारबाट बाहिरिनु नै उचित ठानेको छ। सो सम्बन्धमा २०८३/०१/११ गते नै जनमत पार्टीको संसदीय दलको बैठकमा बहुमतले जनमत पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही अनुरूप जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको हो।’




प्रतिक्रिया