नेतृत्वमा पढेको मानिस भए फरक पर्छ : सीके राउत


सुर्खेत – जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन् ।

पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रूपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए ।

नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाबारे जानकार हुनुपर्नेमा उनले जोड दिए । ‘अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ तर त्यो गलत हो,’ उनले भने, ‘पढ्नु एकदमै आवाश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ ।’

अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए । मानिसले वर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए ।

‘म हरेक दिन पढिरहेको हुन्छु, कुनै बेला बिहान मैले २ घण्टा पढिनँ भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें,’ राउतले भने ।

वर्तमानमा ‘पढे–लेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य समाजमा निर्माण भएकाले पढ्ने संस्कृतिको विकास हुन नसकेको राउतले बताए । ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो, अहिले त आक्रोश पोखिन्छ,’ उनले भने, ‘यो देश पढे–लेखेकाहरूले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन ।’

उनले अहिलेको सरकार संसदप्रति जिम्मेवार नभएको टिप्पणी गरे । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्त्व घटेको उनले बताए । संसद्मा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए ।

सत्रमा वक्ताका रूपमा रहेका वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताइन् । अहिलेको समयमा युवाहरूले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पठनमा ध्यान नदिने गरेको उनले बताइन् ।

मेयर ढकालले इतिहासबारे जान्न अध्ययन गर्नु अनिवार्य हुने बताइन् । ‘हामीले विद्यालय शिक्षालाई निकै महत्त्व दिएर लागिरहेका छौं, कोही पनि विद्यालय बाहिर नरहने गरी अघि बढेका छौं,’ उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको बानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement