नेपालको विश्वसँगको यो संवाद–पहलकदमी—गहन विचार विमर्शको लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताको लागि अवसर र, हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो ।
आज, ‘लोकल र ग्लोबल’ छुट्याउने सीमाहरू लगभग हराइसकेका छन् ।
संसारको कुनै एक कुनामा घटेको घटना, तत्कालै सबैतिर फैलिन्छ ।
एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ ।
टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ, र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन् ।
केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ । यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवादको लागि स्थान,
आपसी ज्ञान साटासाट गर्न, र सामूहिक कदम चाल्न,— सगरमाथा संवादको जन्म भएको हो । हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं— सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर ! र आशा गर्छौं— यो संवाद — हाम्रो संवाद— त्यत्तिकै उच्च बनोस् ।
उच्च नैतिक स्पष्टतामा, दृढ बौद्धिक साहसमा, र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा । आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ ।
चुनौतीहरू विशाल छन् र तीव्र रूपमा नजिकिंदै छन् । महामारीपछिको पुनःस्थापना अझै नाजुक छ ।
जलवायु सङ्कट झन् तीव्र बन्दैछ । संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ ।
वैश्विक शासनप्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ । असमानता—देशभित्र र देशहरुका बीचमा— गहिरिँदो छ ।
एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ । र अझै—यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौं : संवादको शक्ति ।
नेपाल भूगोलको टुक्रा मात्रै होइन । यो पवित्र भूमि हो—जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ । यहीँ, चेतना जागृत भएको थियो।
यो बुद्धको भूमि हो । यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो—जसले मानवतालाई शान्ति, करुणा, र समन्वयको बाटो देखायो ।
यो त्यही भूमि हो—जहाँ सन्तहरूले ध्यान गरे । साधकहरुले सत्य फेला पारे । र जहाँ ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे ।
नेपाल सदा—खोजकर्ताहरूको थलो रहँदै आएको छ । विजेताहरूको होइन—चिन्तकहरूको, युद्धको होइन—संवादको । हाम्रो परम्परा, आदरपूर्वक—आत्मबोध गर्ने सँस्कृतिमा अडेको छ ।
जलवायु सङ्कट झन् तीव्र बन्दैछ । संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्दता झनै टाढिँदै गएको अनुभूति हुन्छ ।
सच्चा मनले— बोल्नेमा, र सँगसँगै— सत्य खोज्नेमा । सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो । हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन । यस्तो ‘स्पेश’ जहाँ प्रज्ञा नतमस्तक हुन्छ— विनम्रताका साथ । जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन्— श्रद्धाका साथ । र जहाँ जवाफ खोजिन्छन्— अहम् बाट होइन, सहअनुभूतिका साथ ।
हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछ : ‘वादे वादे जायते तत्त्वबोधः’ अर्थात् संवादबाटै सत्य ।
चर्को विभाजनको घडीमा पनि—न मौनताले काम गर्छ, न त कर्कस आवाजले । सत्य संवादले काम गर्छ । सुन्ने÷ गुन्ने क्षमताले— अन्तर्मनको वचनले ।
सगरमाथा संवाद—यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो । हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छ ः जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य ।
हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन— यो त हाम्रो दैनिक यथार्थ हो, तर, केवल हाम्रो मात्र होइन— विश्वकै साझा चिन्ताको विषय हो । के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ? के हाम्रो भविष्य हाम्रा यी प्राचीन ’संरक्षक’हरूका संरक्षणबिना बचाउन सकिन्छ ?
हिमालहरू टाढाका लाग्न सक्छन्—तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ । आर्कटिकदेखि एन्डीजसम्म,आल्प्सदेखि हिमालयसम्म—तिनीहरू पृथ्वीका जल–भण्डार हुन् । तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन् ।
र, तिनीहरू अहिले भयङ्कर संकटमा छन् । तिनीहरूको नाजुकता— हाम्रो साझा असुरक्षित अवस्था हो ।संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट, हामी स्पष्ट र दृढताका साथ—सन्देश दिन्छौं :
–हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो ।
–हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो ।
–हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो ।
यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् ।
सुनिने एउटा संकल्प, कार्यमा उत्रने, र हातेमालो गर्दै— भद्र, बौद्धिक, र करुणामय संसारतर्फ अघि बढ्ने संकल्प ।
जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि ।
जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि ।
कुनै पनि राष्ट्र यसबाट अछुतो छैन । कुनै पनि समाज पूर्ण सुरक्षित छैन ।
तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् ।
ती गरिबहरू,
ती अत्यन्त असुरक्षितहरू,
ती हिमाली र कम विकसित राष्ट्रहरू ।
नेपाल पनि तीमध्ये एक हो ।
यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं । हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् ।
बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै, हामी डटिरहेका छौं । हाम्रा उत्सर्जनहरू न्यून छन्—लगभग नगण्य । तर वाताबरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् । हाम्रा हिमालय— पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन् ।
हाम्रा जंगल— जसले हाम्रो आधा भू–भाग ढाकेका छन्— कार्बन सोस्छन्, आशाको सास फेर्छन् । हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन्— लाखौंको प्यास मेटाउँछन् ।
हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन्—धरतीको समृद्ध जैविक विविधतालाई सँ संहाल्छन् ।
नेपालले सन् २०४५ सम्ममा खुद–शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ । विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले । हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौं ।
हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं । हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं । तर हामी यी काम एक्लै गर्न सक्दैनौं । कुनै देशले पनि एक्लै गर्न सक्दैन । जलवायु परिवर्तन एक वैश्विक आपत् हो। यसको समाधान पनि वैश्विक हुनुपर्छ ।
यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं । हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ ।
एक यस्तो उपाय— न्यायमा आधारित । उत्तरदायित्वमा आधारित । ऐक्यवद्धताबाट उत्प्रेरित । जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ ।
जसले सबैभन्दा बढी प्रदूषण गर्छन्—उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ । उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ— वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिबृद्धिमार्फत् ।
र, हामी हिमाललाई नबिर्सौ । विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन् । तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् । तिनैले पानीको भण्डारण गर्छन् ।
तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन् । जब हिमाल पग्लिन्छन् — उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् । जीवन विखण्डित हुन्छ ।
हिमालय—हाम्रो तेस्रो ध्रुव—विश्व औसतभन्दा छिटो तात्दैछ । हिमनदीहरू हराउँदैछन् । हिमतालहरू फैलिंदैछन् । तटीय क्षेत्रका करोडौं मानिसहरू—जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ । ‘हिमालदेखि महासागरसम्म’ को सोच । हिमालहरू उपयुक्त सम्मानका हकदार हुन् हामीले ध्यान दिनुपर्छ । विशेष वित्तीय सहयोगसहित । तदनुकूलका नीतिहरू सहित । हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ ।
जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ । महिला र युवालाई अगाडि ल्याउनु पर्छ । र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ ।
आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं । पूर्व सूचना प्रणाली निर्माण गरौं । डाटा साझेदारी गरौ ं। सीमापार सहकार्य मजबुत पारौं ।
र सबैभन्दा महत्वपूर्ण—हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं । यसरी नै हो—दीगो उत्थानशीलता बढाउने । यसरी नै हो—पृथ्वीको सम्मान गर्ने । र यसरी नै हो—हाम्रो साझा भविष्य जोगाउने ।
हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्–अलग रहने भनेर होइन, अझै माथि उठ्न सकिन्छ भनेर हो । तिनीहरूले दृष्टिकोण दिन्छन् । तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन् । त्यही भावना अनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ । सङ्कीर्ण स्वार्थहरूभन्दा माथि । साझा उच्च उद्देश्यतर्फ ।
आउनुहोस्, हामी हातेमालो गरौं । साहस र संवेदनाका साथ अगाडि बढौं ।
न्यायपूर्ण भविष्यका लागि । दीगो पृथ्वीका लागि ।
हामीलाई चाहिन्छ—नवीन संकल्प । साहसी विचार । नयाँ लगानी, र, क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य । हरित, उत्थानशील र दीगो भविष्य—रोजाइ मात्र होइन । अघि बढ्ने एकमात्र बाटो हो ।
सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो—सुन्ने—गुन्ने, बोल्ने, र बुझ्ने वैश्विक मञ्च । विश्वास निर्माण गर्ने एक साझा थलो । सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता—र मानिसहरूबीचको समानता—
दूरको सपना होइन, जीवित यथार्थ बनोस् । आउनुहोस्, हामी आरोहण गरौं—उत्थानशीलताको चुचुरोतिर न्यायको शिखरतिर र साझा आशामा निर्माण भएको भविष्यतिर ।
हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं । यस संवादभरि, तपाईंहरूका आवाजको— तपाईंहरूको दृष्टिकोणको ।
नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस्—यस सगरमाथाको भूमिमा । यस बुद्धको भूमिमा ।
प्रतिक्रिया