सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन

सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यसविरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

शनिबार बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्षास्थिति र विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायसँगको बैठकमा उनले सम्भावित चुनौतीको मिलेर सामना गर्नुपर्ने बताए ।

मुख्यमन्त्री शाहले सुनसरीसहित तराई–मधेशका जिल्लामा भइरहेका घटनाबाट सुदूरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमबारे सचेत रहँदै सामाजिक सद्भाव कायम गर्ने/गराउने सम्बन्धमा सक्रिय हुन सबैलाई निर्देशन दिए ।

बैठकमा सामाजिक सद्भावका लागि सार्वजनिक अपिल र सबै जिल्लामा सद्भाव र्‍यालीको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने विषयमा सूचित गरिएकोबारे मुख्यमन्त्रीलाई जानकारी दिइएको मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बमले जानकारी दिए ।

‘सामाजिक सद्भाव विरोधी क्रियाकलापले यस प्रदेशमा पार्ने प्रभाव, शान्ति सुरक्षाको अवस्थाबारे पूर्वानुमान गरी त्यस्ता घटना हुन नदिन सुरक्षा निकायबाट पूर्वसर्तकता अपनाउन आवश्यक छ,’ मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘यसका साथै मनसुनबाट सिर्जना हुनसक्ने विपद्लाई ध्यानमा राखी विपद् व्यवस्थापन, प्रतिकार्यलगायत कामका लागि तयारी अवस्थामा रहन सबै सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।’

बैठकमा समसामयिक राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका प्रदर्शनका साथै मनसुनका कारण हुनसक्ने विपद्का बहुआयामिक चुनौतीबारे छलफल गरिएको थियो । बैठकले सामाजिक सद्भाव कायम गर्नका लागि सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नका लागि अपिल समेत गरेको छ ।

बैठकमा प्रमुखसचिव वैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, नेपाली सेना सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति पवन खत्री, उपरथी किरण केसी, प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बहिनीपति दिग्विजय सुवेदी लगायतको उपस्थिति थियो ।