प्रधानसेनापतिको चीन भ्रमण: सेनालाई १५० मिलियन आरएमबी बरावरको सैनिक सामाग्री प्रदान 


काठमाडौं– चीनले नेपाली सेनालाई १५० मिलियन आरएमबी बरावरको सैनिक सामाग्री सहयोग गर्ने समझदारीमा हस्ताक्षर भएको छ । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको चीन भ्रमणका क्रममा बुधवार उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

चिनियां जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्र्तगत प्रदान भएको १५० मिलियन आरएमबी बराबरको सामग्रीहरु (हेवि मेकानिकल व्रिज,एक्सप्लोसिभ ओर्डेनेन्श डिसपोजल, इन्जिनियरिङ्ग सामाग्री र रेसक्यु किट तथा विभिन्न प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा प्रधानसेनापतिले बुधवार बेइजिङ्गमा हस्ताक्षर गरेका छन् । 

चीनियां जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार ०१ गतेदेखि चीन भ्रमणमा रहेका प्रधानसेनापति थापाले बुधवार क्रममा बेइजिङ्गमा चिनियां सेनाका चिफ अफ जोइन्ट स्टाफ एवंम् केन्द्रिय सैनिक आयोजका सदस्य जनरल ली जुछेङ्गसंग भेटवार्ता गरेका थिए । 

यसअघि चिनियां जनमुक्ति सेनाको सैन्य हेडक्वार्टरमा प्रधानसेनापतिको सम्मानमा चिनियां जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

भ्रमणकै सिलसिलामा प्रधानसेनापति थापाले बेइजिङ्गस्थित चीनियां जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेटवाललगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गरेका थिए ।

सेनापति थापा चीनको औपचारिक भ्रमण समाप्त गरी असार ०७ गते काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement