प्रधानसेनापति शर्मा चीन जांदै, संयुक्त सैन्य अभ्यास सुचारु गर्नेबारे छलफल हुने


काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणको तयारी सुरु भएको छ । शर्मालाई उनका चिनियां समकक्षीले निमन्त्रणा दिएको लामो समय भएपनि कोभिड महामारीको कारण उनको उत्तरी छिमेकी मुलुक चीनको भ्रमण हुन सकेको थिएन् ।

शर्माको चीन भ्रमणको तयारीमा दुवै देशका सैनिक अधिकारीहरु जुटेको स्रोतले बतायो । उनि आगामी मे को अन्तिममा चीन जाने तयारीमा छन् ।

शर्मा प्रधानसेनापतिमा नियुक्त भएपछि कात्तिक २३ मा भारत भ्रमणमा गएका थिए । उनि त्यो भन्दा पहिला असार १३ देखि १७ सम्म अमेरिका भ्रमणमा वासिङटन पुगेका थिए ।

‘उहांको चीन भ्रमणका लागि छलफल सुरु भएको छ । अव केही दिनमा नै मिति तय हुन्छ । त्यसका लागि हामिले चिनियां पक्षसंग संवाद गरिरहेका छौं ।’ सैनिक स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

कोभिड महामारीका कारण चीनसंग प्रत्येक वर्ष हुने सैन्य अभ्यास, तालिम र उच्चस्तरिय भ्रमण रोकिएको थियो । चीनमा विदेशीहरुलाई प्रवेश खुला गरेसंगै सैनिक अधिकारीहरुको भ्रमण समेत सुचारु भएको हो । अहिले केही सैनिक अधिकारीहरु तालिमको लागि चीन पुगिसकेका छन् ।

प्रधानसेनापतिको चीन भ्रमणका एजेण्डाबारे समेत सैनिक मुख्यालयमा छलफल सुरु भइसकेको छ । प्रधानसेनापति शर्माको भ्रमणमा द्धिपक्षिय हितका विषयमा छलफल गर्नुका साथै केही समझदारी गर्ने सम्भावना समेत छ । सेनाले केही समयअघि मात्र चीनबाट करिव ६ अर्ब वरावरको २६ वटा एपिसी र ७२ वटा एचटिएमएल टेक्टिकल भेइकल खरिद गर्ने निर्णय गरिसकेको छ ।

प्रधानसेनापतिको भ्रमणमा चीनले थप सैनिक सहयोग घोषणा गर्ने तयारी छ । चीनले नेपाली सेनालाई प्रधानसेनापतिको भ्रमणको बेला सहयोग घोषणा गर्दै आएको छ । उनको भ्रमणमा सगरमाथा फ्रेन्डसिप संयुक्त सैन्य अभ्यास सुचारु गर्नेबारे समेत छलफल हुनेछ ।

नेपाल र चीनबीच सैनिक तहमा २०४४ सालदेखि सहयोग आदान प्रदान हुँदै आएको छ । दुवै देशबीच त्यसयता सेना प्रमुखको तहमा भ्रमण भइरहेको छ । यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा र राजेन्द्र क्षेत्री समेत चीन भ्रमणमा गएका थिए । चीनबाट समेत प्रधानसेनापति र रक्षामन्त्रीको भ्रमण भएको थियो ।

चिनियाँ सेना नेपाली सेनाको अमलेखगञ्जस्थित जंगल वारफेयर र नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमका लागि सहभागी हुने गरेका छन् । नेपाली सेनाका अधिकारीहरुले पनि चिनियाँ सेनासँग विभिन्न प्रकारका तालिममा वेइजिङ र नान्जिङमा सहभागिता जनाउंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement