प्रधानसेनापति थापा चीन जांदै, सैनिक सहयोगमा हस्ताक्षर गर्ने तयारी 


 काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा जाने भएका छन् । चिनियां जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने टुंगो लागेको हो । 

प्रधानसेनापति थापाको यो दोस्रो विदेश भ्रमण हो । प्रधानसेनापति भारतको औपचारीक भ्रमणका क्रममा नयां दिल्ली पुगेका थिए ।  छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए । 

चीनबाट फर्केलगत्तै थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने तयारी छ । चीन भ्रमणको क्रममा थापाले बेइजिङ पुगेर आफ्ना समकक्षी ली जुओछेंगसंग आपसी हित र चासोको विषयमा छलफल गर्ने कार्यक्रम छ । त्यसका दुवै देशका प्रधानसेनापतिले सैनिक सहयोगमा समेत हस्ताक्षर गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । 

जुओछेंग चिनियां जनमुक्ति सेनाका कमाण्डरका साथै केन्द्रिय सैनिक आयोगका ज्वोईन्ट स्टाफ समेत हुन् । उक्त आयोगको प्रमुख चिनियां राष्ट्रपति सि जिनफिंग रहेका छन् ।  चिनियां सेनाप्रमुख जुओछेंग यसअघि नेपाल र भारत समेत हेर्ने पश्चिम थ्रेटर कमाण्ड छेंन्दुका प्रमुख समेत रहेका थिए ।  प्रधानसेनापति थापाले चिनियां स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री वेई फेन्गेसंग समेत भेटवार्ता गर्ने कार्यक्रम  छ । त्यसैगरी थापाले बेइजिङ्ग भ्रमणका साथै चीनको छेन्दु,सांसी र सियानलगायतका शहरको भ्रमण समेत गर्नेछन् । 

चिनियां जनमुक्ति सेनाले नेपाली सेनालाई सैनिक सहयोग हस्तान्तरण समेत गर्ने कार्यक्रम छ । नेपाली सेनालाई आवश्यक रहेको इन्जिनियर इक्वुपमेण्ड, विपद व्यवस्थापनसम्बन्धी सामाग्री, स्पेयर पार्ट,मेडिकल इक्वेमेण्ट र सवारी साधन उपलव्ध गराउने तयारी चीनको छ । 

यसअघि रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका क्रममा भएको सम्झौतालाई कार्वान्वयन गर्ने सवालमा समेत थापाको भ्रमण हुन लागेको बताईन्छ । रक्षामन्त्रीले चीन भ्रमणका क्रममा एनडियु स्थापनाका लागी सहयोग गर्न आग्रह गरेका थिए । 

प्रधानसेनापतिको भ्रमणमा एनडियु र एनडिसीको कोटा उपलब्ध गराउनेबारे समेत छलफल हुने स्रोतको दाबी छ ।  हाल चीनले नेपाली सेनालाई तालिमलगायतको सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement