प्रधानसेनापति ट्रफि प्रतियोगिताः विभिन्न विधाका खेलाडीहरु पुरस्कृत


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७८ को समापन गरेका छन् ।प्रधानसेनापति शर्माले जंगी अड्डास्थित खेल मैदानमा सो प्रतियोगिताको समापन गरेका हुन् । उक्त प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु समावेश गरिएका थिए ।


सो अवसरमा प्रधानसेनापति शर्माले कमाण्डतर्फ प्रथम भएका मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनी अड्डातर्फ प्रथम भएका नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हिम्मत बहादुर बिष्ट र गणतर्फ प्रथम भएका जगदल गणका गणपति सरोज कुमार कार्कीलाई नगद पुरस्कार तथा ट्रफि प्रदान गरे ।

त्यस्तै प्रतियोगिताको ४२ कि.मि. विधाका विजेता जमदार कृष्ण बस्नेत र १० कि.मि.तर्फ प्रथम भएका सिपाही सुभाष कार्कीलाई ‘अतिरथी स्वर्गीय निर शम्सेर ज.ब.रा. पुरस्कार’ प्रदान गरिएको थियो ।

प्रधानसेनापति शर्माले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाका खेलाडीहरु, बक्सिङ्गतर्फ अमल्दार पुनम रावल, सुटिङ्गतर्फ प्युठ कल्पना परियार र एथलेटिक्सतर्फ सिपाही सरस्वती चौधरीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार तथा सम्मान पत्र समेत प्रदान गरेका थिए ।

सोही क्रममा, बलाधिकृत रथी बालकृष्ण कार्कीले महिलातर्फ भलिबल खेलाडी शान्ति कुमारी थारु र पुरुषतर्फ फुटबल खेलाडी बन्दोवस्ती कार्य सिपाही सुमन अर्याललाई “महारथी श्री गौरव शम्सेर ज.ब.रा. अजेयबलसम्पन्न ट्रफी“ हस्तान्तरण गरेका थिए ।
त्यस्तै रक्षा सचिव किरणराज शर्माले गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम भएका भैरवनाथ गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी उक्त खेलमा द्वितीय स्थान हासिल गर्न सफल फष्ट राईफल गणका खेलाडीहरुलाई श्री युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले र तृतीय स्थान हासिल गर्न सफल पुरानो गोरख गणका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले प्रमाणपत्र तथा पदक प्रदान गरेका थिए ।

यसअघि बास्केटबलमा प्रथम हुने नं.१६ बाहिनी अड्डा, भलिबलमा प्रथम हुने नं.१९ बाहिनी अड्डा, सुटीङ्गमा प्रथम हुने नं.२८ बाहिनी अड्डा र एथलेटिक्सतर्फ प्रथम हुने नं.१६ बाहिनी अड्डाहरुले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्दहरु, अन्य सुरक्षा अंगका प्रमुखहरु, सैनिक श्रीमति संघका कार्यकारिणी पदाधिकारीहरु, सैनिक सहचारीहरु, विभिन्न खेलकुद संघका प्रतिनिधिहरु लगायत नेपाली सेनाका बहालवाला तथा भू.पू. सकलदर्जाको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

    

प्रतिक्रिया दिनुहोस
Advertisement