भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणमा सैन्य सहयोग घोषणाको तयारी


काठमाण्डु – भारतीय सेनाका सेनाअध्यक्ष मनोज पाण्डे भदौ १९ मा नेपाल आउने भएका छन् । नेपाली सेनाले उनको भ्रमण पांच दिनको हुने जनाएको छ । नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन पाण्डे भदौ १९ मा नेपाल आउंदैछन् । उनको भ्रमणको सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषदको बैठकले दिइसकेको छ । पाण्डे भदौ २३ मा स्वदेश फर्कनेछन् । क

नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माको निमन्त्रणामा भारतिय सेनाअध्यक्ष पाण्डेको नेपाल भ्रमण हुन लागेको हो । उनको भ्रमणको क्रममा द्धिपक्षिय हित र सैन्य सहयोगको विषयमा समेत छलफल हुनेछ । त्यसका लागि दुवै देशका सैनिक अधिकारी छलफलमा जुटेका छन् ।

नेपाली सेना र भारतीय सेनाबीच सैनिक सम्बन्ध निकै सुमधुर छ । दुवै देशका सेनाबीच संयुक्त सैन्य अभ्यास र सैनिक सहकार्य समेत लामो समयदेखि जारी छ । भारतले नेपाली सेनालाई तालिम, गाडी र बन्दोबस्तीका सामान उपलब्ध समेत गर्दै आएको छ । सेनाअध्यक्ष पाण्डेले नेपाली सेनाका प्रधानसेनापति शर्मासंग सैनिक मुख्यालयमा भदौ २० मा द्धिपक्षिय भेटवार्ता गर्ने कार्यक्रम छ । जहां उनले महत्वपूर्ण सहयोग घोषणा गर्ने सम्भावना छ ।

भारतिय सेना अध्यक्षले नेपाली सेनालाई दुई वटा हेलिकोप्टर, १० वटा एमपीभी गाडी र गाडी र हतियारको लागि दुई वटा सिमुलेटर सहयोग गर्ने निश्चित भइसकेको छ । सेनालाई यसपटक दुई वटा एलएलएच हेलिकोप्टर दिने भारतको तयारी छ । भारतले यसअघि २००२ मा दुई र २०१४ मा १ थान गरी ३ वटा हेलिकोप्टर दिइसकेको छ ।

त्यसपछि उनले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय सेनाअध्यक्ष शर्मा पोखराको भ्रमणमा समेत जानेछन् । उनले नेपाली सेनाको शिवपूरीस्थित कमाण्ड एण्ड स्टाफ कलेजमा गएर सम्बोधन गर्ने कार्यक्रम समेत छ ।

भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणको क्रममा नेपाली सेनाले तिर्न बांकी रहेको हतियार र सैनिक सामाग्रीको रकम मिनाहका लागि समेत छलफल हुनेछ । सेनाले भारतलाई साढे ४ अर्बभन्दा बढी रकम तिर्न बांकी छ । भारतले नेपालसंगको द्धिपक्षिय बैठकमा रकम तिर्नका लागि ताकेता गर्दै आएको छ । तर, नेपालले भने रकम मिनाहा गर्न आग्रह गर्दै आएपनि त्यसलाई भारतले अस्विकार गर्दै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ०७४ मा भएको भारत भ्रमणको क्रममा रकम मिनाहाको लागि नेपालले प्रस्ताव गरेपनि भारत त्यसमा सकरात्मक भएन् । भारतीय सेनाअध्यक्षको भ्रमणमा सेनाले उक्त विषय उठान गरेपनि त्यसमा सम्झौंता हुने सम्भावना भने कम छ । किनभने पाण्डेले चाहेर मात्र त्यसमा निर्णय भने गर्न सक्ने अवस्था नभएको सैनिक स्रोत बताउंछ ।

नेपाली सेना र भारतीय सेनाबीच १९५० देखि नै एक अर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा छ । नेपाली सेनाका प्रधानसेनापति शर्माले यसअघि नै भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिइसकेका छन् । पाण्डेको भने यो पहिलो नेपाल भ्रमण हो ।

भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पाले पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिएका थिए । त्यसयता २१ जना भारतीय र १७ जना नेपाली प्रधानसेनापतिले एक अर्का देशको मानार्थ प्रधानसेनापतिको पदवी लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement