प्रधानसेनापति शर्मालाई भारतीय सेनाध्यक्षको बधाई, नोभेम्बरमा भारत जाने तयारी


काठमाण्डु– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय थल सेनाका सेनाअध्यक्ष मुकुन्द नरवणेले भारत भ्रमणको निम्तो दिएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार भारतीय सेनाअध्यक्ष नरवाणे र सिडिएस विपिन रावतले उनलाई प्रधानसेनापतिमा नियुक्त भएकोमा बधाई दिंदै भारत भ्रमणको समेत निम्तो दिएका हुन ।

प्रधानसेनापति नियुक्त भएलगत्तै टेलिफोनमा बधाई दिएका नरवाणेले सेप्टेम्बर ९ मा औपचारिक पत्र लेख्दै भारत भ्रमणमा बोलाएका हुन । प्रधानसेनापति शर्माको भारत भ्रमणको तयारी सुरु भइसकेको सैनिक स्रोतले जानकारी दिएको छ ।

‘भारतीय समकक्षीबाट भारत भ्रमणको निम्तो प्राप्त भएको छ । भ्रमणको तयारीमा हामी जुटिरहेका छौं । चांडै त्यसको मिति समेत टुंगो लाग्छ ।’ सैनिक स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

प्रधानसेनापति शर्मा नोभेम्बर पहिलो साता भारत भ्रमण जाने टुंगो लागिसकेको छ । दुवै पक्षले मिति टुंगो लगाउन छलफल सुरु गरेको स्रोतको दावी छ ।

भारतबाट नेशनल डिफेन्स कोर्स(एनडीसी) गरेका शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापति समेत हुन । उनले भारतिय राष्ट्रपतिको हातबाट दज्र्यान्ही चिन्ह समेत लगाउने कार्यक्रम छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ ।

नेपाली सेनाका १४ जना प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय सेनाका १८ जना सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाइसकेका छन् ।

आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका शर्माको यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध अझ मजबूत हुने विश्वास गरिएको छ ।

दुवै देशका सेनाबीच तालिम र रक्षासम्बन्धी सहयोग आदान प्रदान हुंदै आएको छ । यसअघि नेपाल भ्रमणमा आएका नरवाणेलाई त्रिभुवन विमानस्थलमा शर्माले नै बलाधिकृत रथीको रुपमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement