प्रधानसेनापति थापाको पहिलो विदेश भ्रमण भारतवाट सुरु हुने 


काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा भारत भ्रमणमा जाने भएका छन् । थापा आगामी जनवरी दोस्रो साता भारत भ्रमणमा जाने तयारीमा जुटेको सैनिक स्रोतले जानकारी दियो । प्रधानसेनापति थापाको भ्रमणको तयारीमा दुवै देशका सैनिक अधिकारी जुटिसकेका छन् ।  

काठमाडौंस्थित भारतिय दूतावासमा कार्यरत सैनिक सहचारी कर्णेल अभिनेश चाम्वियल र नयां दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत सेनाका सहायकरथी ईश्वरकान्त मैनालीले प्रधानसेनापतिको भ्रमणको तयारी गर्दैछन् । सहायकरथी मैनाली  भ्रमणकै तयारीको लागी हाल काठमाडौंमा छन् । मैनालीसंगै सेनाका अन्य उच्च अधिकारी पनि भ्रमणबारे भारतिय सेनाका अधिकारीसंग छलफलमा छन् । 

नेपाली सेनाको प्रधानसेनापति भारतिय सेनाको मानार्थ सेनापति हुने परम्परा रहंदै आएको छ । थापा त्यसैका लागी भारत भ्रमणमा जाने तयारीमा छन् । 

थापालाई भारत भ्रमणको क्रममा भारतका राष्ट्रपतिले मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । त्यसका साथै प्रधानसेनापति थापाले भारतिय समकक्षी विपिन रावत र अन्य उच्च तहका सरकारी अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । थापा गत भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए । 

उनको नियुक्तीपछि भारत,चीन र अमेरिकालगायतका मुलुकले आफ्नो देशको भ्रमण गर्न थापालाई आग्रह गरेको स्रोतको दाबी छ । तर, थापाले उक्त आग्रहलाई अहिले घर सुदृढ गर्न लागेको भन्दै उपयुक्त समयमा भ्रमण गर्ने कुटनीतिक जवाफ दिदैं आएका थिए । 

यसअघि प्रधानसेनापति भएलगत्तै भारत भ्रमणमा जाने परम्परा थियो । थापाले पनि नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण नै भारतबाट सुरु गर्ने तयारी गरेका छन् । उनले भारतबाटै नेशनल डिफेन्स कोर्स गरेका थिए ।  यसअघि पनि विमेस्टेक राष्ट्रका सेनाको सैन्य अभ्यासको अवसरमा आयोजित कार्यक्रममा थापा भारत जाने तयारीमा थिए । तर, सरकारले उनको भ्रमण अस्विकृत गरेपछि थापा रोकिएका थिए । 

सेनापति थापाले पछिल्लो समय सेनामा सुधारको सुरुवात गरेका छन् । उनले शान्ति सेना,भर्ना छनौट, सेनाको खरिद प्रक्रिया र बढुवा पद्धतीमा सुधार ल्याउने दावी गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement