प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन कार्यान्वयन हुंदै : खुम्बु क्षेत्रको फोहोर संकलन गर्दै सेना 


काठमाडौं– नेपाली सेनाले सगरमाथा हिमाल सफाई अभियान सुरु भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आयोजना गरेको वन्यजन्तु सप्ताह अनुसार शुरु भएको उक्त अभियान सेना लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको संयुक्त प्रयासमा संचालन भएको हो । अभियान वैशाख १ बाट सुरु भएको थियो । 

सेनाले अभियानको लागि आबश्यक पर्ने बन्दोबस्तीका सामानहरु करिब २५०० के.जी गत वैशाख १ मा एम आई १७ हेलिकप्टरबाट काठमाण्डौदेखि नाम्चेसम्म ढुवानी गरिसकेको छ ।  

सेनाले खुम्बु क्षेत्रमा संकलित करिब एक हजार के.जी. नगल्ने र नसड्ने फोहोर काठमाण्डौ ल्याई ब्लु वेस्ट टु भ्यालु प्रा.लि. का प्रतिनिधिलाई हस्तान्तरण गरिएको र बांकि एक हजार के.जी. फोहोरलाई उचित व्यवस्थापन गर्ने गरि ओखलढुङ्गा ब्यारेकमा लगेर राखिएको जनाएको छ । 

प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन २०७५ अन्तर्गतको पर्यावरण संरक्षणमा राष्ट्रलाई सहयोग गर्ने नीति अनुरुप सफा हिमाल अभियान कार्यक्रम अनुसार आगामी जेठ १५ गतेसम्म संचालन हुने सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागिसेनाले आवश्यक जनशक्ति तथा हवाई साधनहरु प्रयोगमा सहयोग प्रदान गर्नेछ । 

सफाई अभियानबाट सगरमाथा खुम्बु क्षेत्र सफा हुन गई यसले वातावरण प्रदुषणमा उल्लेख्य सुधार भई अन्तर्रा्ष्ट्रिय जगतमा समेत राम्रो प्रभाव पर्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement