सुरक्षा विश्वविद्यालय स्थापनाबारे के भने प्रधानसेनापतिले ?


काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षा विश्वविद्यालयको काम सरकारले प्राथमिकताको साथ अघि बढेको बताएका छन् । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २५ जना महासेनानी दर्जाका शिक्षार्थी सहभागी हायर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको समापन कार्यक्रममा बोल्दै प्रधानसेनापतिले यस्तो धारणा राखेका हुन् । 

उनले राष्ट्रिय सुरक्षासंग सम्बन्धित चुनौतिहरुलाई लक्षित गर्दै त्यसको समाधानको लागि राष्ट्रिय सुरक्षासंग सम्बन्धित सबै निकायहरुलाई एकै ठाउंमा ल्याई प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्ने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापनाको अवधारणा राखिसकेको बताए ।  

हायर कमाण्ड कोर्समा सहभागी उच्च सैनिक अधिकृतलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले भने ‘राष्ट्रिय सुरक्षासंग सम्बन्धित चुनौतिहरुलाई समेटेर अध्ययन, विश्लेषण र सुझावहरु दिई राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापनाको अवधारणालाई परिणाममुखी बनाउन तपाईहरुले लिएको तालिम एक कोशे ढुंगा सावित हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’ 

प्रधानसेनापति थापाले नेपाली सेनाको अपरेशनल तहका नेतृत्व वर्ग तयार गर्ने उद्देश्य अनुरुप विगत ६ वर्ष अगाडिदेखि सेनाले सञ्चालन गर्दै आईरहेको यस किसिमको उच्चस्तरको तालिमले जटिल अपरेशनल परिस्थितिको सुक्ष्म मुल्याङ्कन गर्दै सहि निर्णय लिन सक्षम तुल्याउनुका साथै मातहतका नेतृत्व वर्गलाई समेत सोहि बमोजिम निर्देशित गर्न योग्य बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । 

प्रधानसेनापतिले यस तालिमबाट संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यको विविध कार्यहरु प्रभावकारी ढंगले सम्पादन गर्न र अन्य बहुराष्ट्रिय वातावरणमा कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्न मद्धत पुग्ने विचार व्यक्त गरे । । 

नेपालको सुरक्षा चुनौतिको विश्लेषणको लागि पेशागत दक्षताका साथ उच्च सैनिक संस्कार र मान्यताको थप विकासमा समेत यस किसिमको तालिम फलदायी सावित हुने प्रधानसेनापतिको भनाई थियो ।

महासेनानी थापा हायर कमाण्ड कोर्समा सर्वोत्कृष्ट घोषित 

नेपाली सेनाका महासेनानी माधव थापा हायर कमाण्ड कोर्समा सर्वोत्कृष्ट घोषित भएका छन् । थापा इन्डिभ्युजल रिसर्च पेपर राईटिङमा सर्वोत्कृष्ट भएका हुन् । कार्यक्रममा प्रधानसेनापति थापाले महासेनानी थापालाई शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार ३० हजार  तथा अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।  

महासेनानी थापा प्रधानसेनापतिको सचिवालयमा कार्यरत थिए । उनि नेपाली सेनाभित्र उच्च व्यवसायीक सैनिक अधिकृतका रुपमा चिनिन्छन् । थापा  प्रमुख सेनानीबाट महासेनानीमा फास्ट ट्रयाकमा बढुवा भएका थिए । उनि ३५ वेसिकका सैनिक अधिकृत हुन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement