प्रधानसेनापति स्वदेश फिर्ता :भिआईपि कक्षमा प्रचण्डले राखे चोड सम्मेलनबारे जिज्ञासा


काठमाण्डु- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक कार्यक्रम सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् । श्रावण ०९ गतेदेखि ११ सम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित चिफ अफ डिफेन्स (चोड) मा सहभागी भएका शर्मा शुक्रबार राति स्वदेश फर्केका हुन् । शर्माको भ्रमण असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री तथा रक्षामन्त्रिस्तरको असार २२ गतेको निर्णयानुसार श्रावण १२ गतेदेखि २० गतेसम्म ९ (नौ) दिन अष्ट्रेलिया मै रहने गरी उनको घर बिदा स्वीकृत भएको सेनाले जनाएको छ ।

प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा स्वागत गरेका थिए ।  उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

सेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसका साथै उनको चीन, नाटो र अन्य एसियाली देशका सेना प्रमुखहरुसंग समेत भेटवार्ता भएको जनाइएको छ ।

सेनाले यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यता संसदको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको शुक्रबार बसेको बैठकले इण्डो प्यासिफिक कमाण्ड सम्मेलनमा भाग लिन गएको भन्दै सेनापतिलाई बोलाउने निर्णय गरेको छ । शर्माको भ्रमण सरकारले नै स्वीकृत गरेको भएपनि सत्तारुढ दलकै सांसदहरुले उनको भ्रमणबारे प्रश्न उठाइरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत शुक्रबार सांझ जापान जाने क्रममा भिआईपि कक्षमा शर्मासंग भेट हुंदा सम्मेलनबारे जिज्ञासा राखेका थिए ।

उनले सम्मेलनमा के के भयो भनेर प्रश्न राख्दा शर्माले इण्डो प्यासेफिक कमाण्डसंग सम्बन्धित कुनै सम्झौंता र महत्वपूर्ण निर्णय नभएको र सम्मेलनमा नेपाली सेनाको सहभागिता धेरै पहिलेदेखि नै हुंदै आएको बताएका थिए । उनले चिनियां जनमुक्ति सेनाका प्रमुखसहित धेरै देशका सेनाका प्रमुखसंग भेटवार्ता भएको बताएको स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement