सेनामा पहिलो पटक दुवै रथीको दरबन्दी रिक्त, प्रधानसेनापतिको क्षमतामाथि उठ्यो प्रश्न चिन्ह !


काठमाण्डु – नेपाली सेनामा पहिलो पटक दुई रथीको पद रिक्त भएको छ । सेनामा दुई जना रथीको दरबन्दी रहेकोमा बलाधिकृतरथी सरोजप्रताप राणाले गत कात्तिक ११ मा नै अवकास पाइसकेका छन् । राणाले अवकास पाएपछि बलाध्यक्ष र बलाधिकृतरथीको जिम्मेवारी पाएका सेनाका रथी सिताराम खड्का समेत बुधवारबाट विदामा बसेका छन् ।

उनले आगामी पुस ३ मा सैनिक सेवाबाट अनिवार्य अवकास पाउंदैछन् । सेनामा अवकास पाउनु १५ दिनअघि नै विदामा बस्ने प्रचलन छ । सेनामा पहिलो पटक दुवै रथीको दरबन्दी रिक्त भएको यो पहिलो पटक हो । हालको सैनिक नेतृत्वको नेतृत्व क्षमता कमजोर भएकै कारण सेनामा यो परिस्थिती पैदा भएको सैनिक अधिकारीहरु नै बताउंछन् ।

हालका सेना प्रमुख प्रधानसेनापति प्रभुराम शर्मा छन् । शर्माले नै समयमै निर्णय नगर्दा यस्तो परिस्थिती आएको जानकारहरु बताउंछन् । त्यतिमात्र होईन प्रधानसेनापति शर्मा व्यक्तिगत स्वार्थमा बढि केन्द्रित हुंदा सेनाको छिमेकी राष्ट्रहरुसंगको सम्बन्ध समेत असन्तुलित बन्न पुगेको चर्चा सैनिक मुख्यालयमा हुन थालेको छ ।

अहिले रथी बढुवाको लागि उपरथी अशोकराज सिग्देलको बढुवा सैनिक मुख्यालयले अघि बढाएको छ । उमेर विवादका कारण सेनाले रथीमा सिफारिस गरेका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएपछि वरियताका आधारमा सेनाले सिग्देलको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

उनिविरुद्ध समेत उमेरकै विवाद झिकेर रक्षा र अख्तियारमा उजुरी हालिएको छ । तर, सरकारले सिग्देलकै बढुवा अघि बढाउने तयारी सरकारले गरिसकेको छ । सिग्देलले सेनामा बुझाएको विवरणमा सबै ठिक भएको भन्दै उनको बढुवा प्रक्रिया अघि बढाइएको हो । त्यसमा प्रधानमन्त्री र रक्षामन्त्रीलाई समेत प्रधानसेनापतिले सहमत गराइसकेका छन् ।

सिग्देल र पाण्डेको उमेरको समस्या एउटै रहेको भनिएपनि पाण्डेको नागरिकता दुई वटा रहेको र नागरिकता नम्बर समेत फरक फरक रहेको फेलापछि उनले पदबाट राजीनामा दिएका थिए । सिग्देलको भने त्यो समस्या नदेखिएपछि रथी सिताराम खड्का नेतृत्वको बोर्डले उनको नाम अघि सारेको हो । यद्यपी उनिमाथि समेत हिलो छ्याप्ने क्रम जारी नै छ । त्यसका सेनाकै उनको प्रतिस्पर्धीहरु सक्रिय छन् ।

सिग्देलको बिहिवार बस्ने मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने सम्भावना छ । उनको रथीमा बढुवा हुनुअघि नै प्रधानसेनापतिले उनलाई निमित्त बलाध्यक्ष तथा बलाधिकृतको जिम्मेवारी दिइसकेको छ । रथी सिताराम खड्का बिदामा बसेपछि सिग्देललाई कार्यभार हस्तान्तरण गरिएको हो ।

सेनामा यो संगै सिग्देलको २०८१ भदौमा प्रधानसेनापति बन्ने लगभग निश्चित भएको छ । तर, उनलाई रोक्न सेनाका अधिकारीहरु सक्रिय रहेको चर्चा छ । सेनाको वरियतामा रहेका उपरथी सन्तोष ढकाल समेत सिग्देल र उनिपछिका निर्मल थापालाई हटाएर आफु प्रधानसेनापति बन्ने दौडमा छन् । त्यसका लागि मिडियावाजीमा उनि लागेको भन्दै प्रधानसेनापति शर्मालाई उनको वारेमा उजुरी परेको सैनिक स्रोत बताउंछ । अहिलेको अवस्थामा सिग्देल चिफ बने र त्यसपछि हाल फोर्स कमाण्डर रहेका थापा रथी बनेपछि ढकाल उपरथीमै घर जाने अवस्थामा छन् ।

प्रधानसेनापति शर्मा आगामी भदौमा घर गएसंगै रिक्त दरबन्दीमा सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा रहेका उपरथी बावुराम श्रेष्ठ तिन तारे बन्ने लाइनमा छन् । श्रेष्ठलाई तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वाग्रह राखेर कार्वाही गर्न खोज्दा उनि बढुवामा पछि परेका थिए ।

सेनामा गुटबन्दी बढेपछि प्रधानसेनापति शर्माले मंगलबार संस्था बाहिर गएर कसैले चलखेल गरे कार्वाही गर्ने चेतावनी दिएका थिए । उनले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने दावी गर्दै स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भएतापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्ने काम नगर्न चेतावनी दिएका थिए ।

शर्मालाई सेनाका वरिष्ठ उपरथीहरुले भेटेर सेनाभित्र भइरहेको मिडियावाजी र प्रधानसेनापतिले चाल्नुपर्ने कदमका विषयमा यो विचमा सुझाव समेत दिएका छन् । उनिहरुले प्रधानसेनापति संस्था कमजोर भएको र यसले सेनालाई नै कमजोर बनाउने भन्दै अनुशासनको कडा कदम चाल्न सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement