प्रधानसेनापतिले भने ‘सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी सूचना प्रवाह गर्न सेना तयार छ ’


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले सूचनाका हकको थप प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना कटिबद्ध रहेको बताएका छन् । उनले सूचनाको हक आम नागरिकको मौलिक हक भएको तथ्यलाई मनन् गर्दै सूचनाको संवेदनशिलतालाई समेत मध्यनजर गरी सूचना पहुँचको सहज कार्यान्वयन मार्फत सूचना प्रवाहलाई सुनिश्चित तुल्याउन नेपाली सेना सदा प्रतिबद्ध रहेको बताए ।

प्रधानसेनापतिले राष्ट्रिय सूचना आयोगबाट प्राप्त सुझावहरुलाई आत्मसात गरी आगामी दिनहरुमा सूचनाका हकको थप प्रभावकारी कार्यान्वयनको लागी सेना तयार रहेको धारणा राखे ।

नेपाली सेनाले राष्ट्रिय सूचना आयोगसँगको समन्वयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयनको अवस्थालगायत नेपाली सेनाबाट उक्त ऐन कार्यान्वयनमा हालसम्म भएका उपलब्धी सम्बन्धमा सोमबार जंगि अड्डामा अन्र्तक्रिया सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले संविधानको धारा २७ अनुसार प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक भएकाले नेपाली सेनासँग माग हुने सूचना निर्वाध रुपमा प्रवाह गर्न नेपाली सेना प्रतिबद्ध रहनुपर्ने बताए ।

त्यसैगरी सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले सूचनाको हक सम्बन्धी कानूनी पक्षहरुको बारेमा प्रकाश पारेकी थिईन ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement