प्रधानसेनापति थापा चीन प्रस्थान, यस्तो छ बेइजिङ्गमा तयारी 


काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चीन प्रस्थान गरेका छन् । चिनियां जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सेनापति थापा ७ सदस्यीय भ्रमण दलसहित आईतवार दिउंसो चीनको छेन्दु प्रस्थान गरेका हुन् । 

प्रधानसेनापति थापालाई बलाधिकृतरथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । यसअघि प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानसेनापति थापाले चीन भ्रमणको क्रममा चीनका विभिन्न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसंग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

चीन भ्रमणको क्रममा थापाले बेइजिङ पुगेर आफ्ना समकक्षी ली जुओछेंगसंग आपसी हित र चासोको विषयमा छलफल गर्ने कार्यक्रम छ । त्यसका दुवै देशका प्रधानसेनापतिले सैनिक सहयोगमा समेत हस्ताक्षर गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । 

जुओछेंग चिनियां जनमुक्ति सेनाका कमाण्डरका साथै केन्द्रिय सैनिक आयोगका ज्वोईन्ट स्टाफ समेत हुन् । उक्त आयोगको प्रमुख चिनियां राष्ट्रपति सि जिनफिंग रहेका छन् ।  चिनियां सेनाप्रमुख जुओछेंग यसअघि नेपाल र भारत समेत हेर्ने पश्चिम थ्रेटर कमाण्ड छेंन्दुका प्रमुख समेत रहेका थिए ।  

प्रधानसेनापति थापाले चिनियां स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री वेई फेन्गेसंग समेत भेटवार्ता गर्ने कार्यक्रम  छ । त्यसैगरी थापाले बेइजिङ्ग भ्रमणका साथै चीनको छेन्दु,सांसी र सियानलगायतका शहरको भ्रमण समेत गर्नेछन् । 

चिनियां जनमुक्ति सेनाले नेपाली सेनालाई सैनिक सहयोग हस्तान्तरण समेत गर्ने कार्यक्रम छ । नेपाली सेनालाई आवश्यक रहेको इन्जिनियर इक्वुपमेण्ड, विपद व्यवस्थापनसम्बन्धी सामाग्री, स्पेयर पार्ट,मेडिकल इक्वेमेण्ट र सवारी साधन उपलव्ध गराउने तयारी चीनको छ । 

यसअघि रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका क्रममा भएको सम्झौतालाई कार्वान्वयन गर्ने सवालमा समेत थापाको भ्रमण हुन लागेको बताईन्छ । रक्षामन्त्रीले चीन भ्रमणका क्रममा एनडियु स्थापनाका लागी सहयोग गर्न आग्रह गरेका थिए । 

प्रधानसेनापतिको भ्रमणमा एनडियु र एनडिसीको कोटा उपलब्ध गराउनेबारे समेत छलफल हुने स्रोतको दाबी छ ।  हाल चीनले नेपाली सेनालाई तालिमलगायतको सहयोग गर्दै आएको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियां सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । चिनियां राष्ट्रपति सि जिनपिंगको नेपाल भ्रमणको चर्चा चलिरहेका बेला प्रधानसेनापति थापालाई चीन भ्रमणमा बोलाउनुलाई महत्वका साथ हेरिएको छ । 

 

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृतरथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement