आन्तरिक सुधारपछि प्रतिरक्षा र कूटनीति सम्बन्ध विस्तारमा प्रधानसेनापति थापा सक्रिय


काठमाडौं – गत वर्ष २०७५ भदौ २४ गते प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका पूर्णचन्द्र थापालाई भेटेर विभिन्न देशका राजदूतले सुरूमै विदेश भ्रमणको निम्तो दिए । तर, उनको पहिलो प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीति थिएन ।

उनले सुरूमा विदेश भ्रमणको निम्तो स्वीकार गरेनन् । बरु उपयुक्त समय मिलाएर भ्रमण गर्ने जवाफ फर्काउँदै संगठनभित्रको आन्तरिक सुधारमा ध्यान दिए ।

लामो समय सेनामा कार्यरत रहँदा उनले समस्या र विकृति देखेका थिए । त्यसैले उनको पहिलो ध्यान त्यसको सुधारमा गयो । उनले शान्ति सेना मिसन, भर्ना छनौट, सेनाको खरिद प्रक्रिया र बढुवा पद्दतिमा सुधार ल्याउन कोसिस गरे । 

आन्तरिक सुधारमा सेनापति थापा लगभग सफल भएका छन् । शान्ति सेना मिसनमा जाने सैनिक कर्मचारीको छनौटमा हुने भेदभाव, पक्षपात र राजनीतिक प्रभावलाई हटाएर प्रणालीमा नै थापाले सुधार  ल्याएका छन् । यसवाट हरेक सैनिक जवानमा आफू मिसनमा जान पाउने विश्वास पलाएको छ । उनले आन्तरिक सरुवा–बढुवा लगायत खरिद प्रक्रियामा समेत सुधार ल्याएका छन् । सेनाको सम्भाररथी विभागमा अझै पनि अनियमितता भईरहेको गुनासो आएपनि पहिलेभन्दा निकै सुधार भएको बताईन्छ । 

आन्तरिक सुधारपछि सेनापति थापा सैनिक संगठनको समृद्धिमा लागेका छन् । सैनिक संगठनलाई समृद्ध बनाउन प्राज्ञिक र कूटनीतिक प्रयासमा जुटेका छन् सेनापति थापा । थापाले भारत, चीनपछि हाल अमेरिकाको भ्रमण गरिरहेका छन् । 

चीन भ्रमणपछि प्रतिरक्षा विश्वविद्यालय स्थापना

प्रधानसेनापति थापाले असार १ गतेदेखि ७ गतेसम्म चीनको भ्रमण गरे । चीनमा रहँदा उनले चिनियाँ सेनाका उच्च पदस्थ अधिकारीसँग भेटघाटसहित चिनियाँ सेनाका विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थलको निरीक्षण समेत गरेका थिए ।

सेनापति थाप चीन भ्रमणबाट फर्किंंएपछि नेपाली सेनाकोो सक्रियतामा स्थापन हुन लागेको प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको छ । प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका क्रममा समझदारी भएको थियो । सोही सहमति अनुसार चिनियाँ सहयोग र नेपाली सेनाको सक्रियतामा प्रतिरक्षा विश्वविद्यालय स्थापना हुने क्रममा रहेको छ ।

सेनाको जंगीअड्डामा आवश्यक जनशक्तिसहित ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय’ स्थापना गरिएको हो । नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी सहज कार्यान्वयनको सुनिश्चितता गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले विश्वविद्यालयको स्थापना गर्न लागिएको छ । सम्पर्क कार्यालयले विश्वविद्यालय स्थापनाका लागि आवश्यक तयारी, समन्वय र सक्रियता देखाउने छ ।

सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश भएको छ । विश्वका विभिन्न राष्ट्रले आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढीकरणका लागि आफ्नो राष्ट्रिय आवश्यकता र महत्वलाई दृष्टिगत गरी अध्ययन, अनुसन्धान र अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयजस्ता उच्च प्राज्ञिक संस्था स्थापना गर्ने गरेका छन् । नेपाली सुरक्षा अधिकारीले हाल विदेशमा विदेशमा गएर नेशनल डिफेन्स कोर्स र प्रतिरक्षा तालिम लिनुपर्ने बाध्यता छ । विश्वविद्यालय स्थापनापछि नेपालमै तालिम दिन सकिने र सुरक्षा निकाय प्राज्ञिक क्षेत्रमा समृद्ध हुने विश्वास गरिएको छ ।

संयुक्त राज्य अमेरिका, चीन, बेलायतलगायत सार्क मुलुकहरू भारत, पाकिस्तान, श्रीलंका, बङ्गलादेश एवं अफ्रिकी मुलुकमा समेत प्रतिरक्षा सम्बन्धी उच्च प्राज्ञिक संस्था स्थापना भई राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षाका विषयमा उच्च शिक्षा प्रदान हुँदै आइरहेको छ । केही महिनाअघि नेपाली सेनाले विश्वविद्यालयको संरचना र खाकाबारे सरोकारवालासँग छलफल गरेको थियो ।

कूटनीतिक सम्बन्ध विस्तार

प्रधानसेनापति थापाले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरू गरेका थिए । उनले पुस २७ गतेदेखि माघ २ गतेसम्म भारत भ्रमण गरे । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा उनी ७ सदस्यीय टोलिसहित ५ दिनका लागि भारत भ्रमणमा गएका थिए । 

उनलाई पुस २८ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सम्मान गरिएको थियो । त्यसपछि चीन भ्रमण गरेका थापा हाल अमेरिका भ्रमणमा छन् । 

थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् । प्रधानसेनापति थापा बेलायती सैन्य बलले आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जालसम्बन्धी सम्मेलन तथा संयुक्त राष्ट्रसङ्घको सचिवालयले आयोजना गर्ने तेस्रो रक्षा प्रमुखको सम्मेलनमा सहभागी भइरहेका छन् । भ्रमणका क्रममा उनले अमेरिकाका उच्च सैनिक पदाधिकारीसँग समेत भेटवार्ता गरिरहेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनी साउन १ गते स्वदेश फर्किने छन् ।

विदेश भ्रमण र अवलोकनबाट सेनापति थापाले थुप्रै अनुभव बटुल्ने र त्यसबाट सैनिक संगठनलाई अझै परिस्कृत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परम्परागत र प्रशासनिक सुधारपछि प्रधानसेनापति थापा सैनिक संगठनको दीर्घकालीन र नविन सुधारबाट सुरक्षा समृद्धि ल्याउन सक्रिय देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement