प्रधानसेनापतिवारे अर्नगल प्रचार गरेको भन्दै सेना असन्तुष्ट


काठमाडौं- नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको पोसाकलाई लिएर केहि सञ्चार माध्ययममा आएको खबरप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । भारतको औपचारिक भ्रमण पुरा गरी गत माघ २ गते स्वदेश फर्किएका प्रधानसेनापति, कार्यालय पोसाकमा नै स्वदेश फर्किएका तथा भारतीय सेनाका सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको समेत भ्रमण कार्यालय पोसाकमा नै भएको सेनाले प्रष्ट पारेको छ ।

शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाली सेनाले विगतको प्रचलन अनुसार नै प्रधानसेनापतिले पोसाक लगाएको बताएको छ । साथै उसले फरेज क्याप (टोपी) भारतमा नै छुटेको भन्ने समाचारमा समेत कुनै सत्यता नभएको बताएको छ ।

भारतीय सेनाको निमन्त्रणामा गत पुस २७ मा भारत भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको हेलिकोप्टरबाट गत बुधबार स्वदेश फर्किएका थिए ।

नेपाली सेनाको ध्यानाकर्षण

१. मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सम्पन्न गरी मिति २०७५ माघ ०२ गते स्वदेश फिर्ता हुने सिलसिलामा प्रधान सेनापतिको पोशाकलाई लिएर पूर्व जर्नेल तथा सैनिक विज्ञ एवं अर्को प्रसंगमा सैन्य मुख्यालय श्रोतको हवाला दिदैँ केहि अनलाईन समाचार माध्यम मार्फत गरिएको अनर्गल प्रचार र वास्तविकतालाई तोडमोड गरी प्रकाशित समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

२. भ्रमणको सिलसिलामा प्रधान सेनापतिबाट भारतीय सेनाका विभिन्न सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको भ्रमण कार्यालय पोशाकमा भएको र भ्रमण समापन गरी स्वदेश फिर्ता हुने दिन पनि सेन्ट्रल कमाण्डको भ्रमण सम्पन्न गरी कार्यालय पोशाकमा नै स्वदेश फिर्ता हुनु भएको जानकारी गराउँदछौ ।

३. साथै, केही अनलाईन मिडियाले तर्क गरे बमोजिम टोपी (फरेज क्याप) भारतमा छुटेको भन्ने समाचारमा कुनै सत्यता नभएको तथा समाचारमा दाबी गरिए अनुसार प्रधान सेनापति लगायत सम्पूर्ण भ्रमण दलका सदस्य चुस्ता पोशाकमा नभई कार्यालय पोशाकमा स्वदेश फिर्ता हुनु भएको नेपाली सेना थप प्रष्ट पार्न चाहन्छ ।

४. सामान्यतया हवाई यात्राको दौरान सिभिल पोशाक लगाउने र आगमन पश्चात् सम्मान गारत कार्यक्रमको लागि सेरेमोनियल (ट्युनिक) पोशाकमा सम्मान गारत लिने विगतको प्रचलन अनुसार नै प्रधान सेनापतिले सम्मान गारत लिनु भएको समेत जानकारी गराउन चाहन्छौ । तसर्थ, यसरी वास्तविकता भन्दा भिन्न हुने गरी प्रकाशित भएका भ्रमपूर्ण एवं कसैको पूर्वाग्रहबाट प्रभावित अनर्गल समाचारबाट भ्रममा नपर्न नेपाली सेना सबैमा हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement