दुई साता लामो विदेश भ्रमणमा निस्के प्रधानसेनापति शर्मा , कार्कीले पाए कामु प्रधानसेनापतिको जिम्मेवारी


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा लेवनानतर्फ प्रस्थान गरेका छन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ शर्मा शनिबार लेवनानतर्फ प्रस्थान गरेका हुन् ।

रक्षा सचिव सहित ७ (सात) सदस्यीय भ्रमण दलको नेतृत्व गरी प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

प्रधान सेनापति शर्मा लगायतको भ्रमण दलले असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनान र युनिफिल मिसन र त्यसपछी सिरियास्थित अनडफ मिसनको निरीक्षण भ्रमण गर्ने र उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि र फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने कार्यक्रम छ ।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरिया, युनिफिल र अनडफ मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नेछन् ।

प्रधान सेनापति शर्मा त्यहीबाट संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गते देखि १७ गतेसम्म ५ (पाँच) सदस्यीय भ्रमणदलका साथ अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम  समेत रहेको छ ।

प्रधानसेनापति शर्माको अमेरिका भ्रमणमा द्धिपक्षिय सैनिक सहयोगको विषयमा कुराकानी हुनुका साथै अमेरिकी सरकारको रक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम समेत छ ।

प्रधानसेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् । शर्मा लगायतको भ्रमणदल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement