नेपाली सेनाका प्रधानसेनापतिलाई बंगलादेशमा दिईयो यस्तो सम्मान (फोटो फिचर )


काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फर्केका छन् । बङ्गलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणामा सेनापति थापा पुष २७ मा ढांका पुगेका थिए ।

सेनापति थापासंगै उपरथी ताराध्वज पाण्डे र सहायकरथी प्रेम शाही समेत भ्रमण दलमा सहभागी थिए । प्रधानसेनापति थापा नेपाली सेनाको एम २८ स्काई ट्रकवाट पहिलो पटक ढांका पुगेका थिए ।  चार दिने बङ्गलादेश भ्रमणको क्रममा उनले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसंग भेटवार्ता गरेका थिए । तत्पश्चात उहाँले नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए ।

यसैगरि उनले बंगलादेशको आर्म फोर्स डिभिजनको भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट समेत गरेका थिए । प्रधानसेनापतिले भ्रमणको दौरान बंगलादेश सेनाको सैनिक अस्पताल, नेशनल डिफेन्स कलेज, डिफेन्स सर्भिसेस कमाण्ड एण्ड स्टाफ कलेजलगायत विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको समेत भ्रमण समेत गरेका थिए ।

सेनाले यस प्रकारको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र बंगलादेशी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीवृन्द र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

बंगलादेशमा संचालन हुने नेशनल डिफेन्स कलेज, स्टाफ कलेज कोर्स, जुनियर स्टाफ कोर्स, युनिट कमाण्ड एण्ड स्टाफ कोर्स,मिलिटरी पोलिस एडभान्स कोर्स र ग्लोबल एण्ड सेक्युरिटीजस्ता जस्ता तालिमहरुमा नेपाली सेनाका अधिकृतहरु सहभागी हुने गरेका छन् भने नेपालमा संचालन हुने कमाण्ड एण्ड स्टाफ कलेज कोर्स, माउण्टेन वारफेयर कोर्स, काउन्टर इन्सरजेन्सी एण्ड जंगल वारफेयर कोर्स र प्यारा वेसिक कोर्सलगायत तालिमहरुमा बंगलादेशका सैनिक अधिकृतहरु सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement